सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । गोपाल नीना फाउन्डेशन नेपालद्वारा आयोजित निःशुल्क एक दिने स्वास्थ्य शिविर बाँकेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरस्थित स्वास्थ्य चौकीमा शनिबार सम्पन्न भएको छ ।
स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको उक्त शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए । शिविरमा फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, बाल रोग विशेषज्ञ तथा छाला रोग विशेषज्ञहरूको सहभागिता रहेको थियो । कार्यक्रमका क्रममा करिब ४ सय स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा लिएका थिए ।
गोपाल नीना फाउन्डेशन नेपालका प्रबन्ध निर्देशक डा. गौरव श्रेष्ठले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले भने, “पछाडि परेका तथा पहुँच नभएका जनताका लागि हामीले यस्ता सेवाहरू निरन्तर रूपमा प्रदान गर्दै जानेछौं ।” कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । स्वास्थ्य सेवाबाट वञ्चित क्षेत्रमा सञ्चालन गरिएको यस शिविरबाट नागरिकहरूले प्रत्यक्ष लाभ लिएको आयोजकले जनाएको छ । फाउन्डेशनका पब्लिक म्यानेजर दिलीप गिरीका अनुसार शिविरले दुर्गम क्षेत्रका बासिन्दालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याएको छ । उक्त कार्यक्रमलाई सफल बनाउन नरैनापुर गाउँपालिका, NMSRA, PEAN तथा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस लगायतका संघ–संस्थाहरूले सहयोग गरेका थिए ।