दंगीशरणमा सिकल सेलको निःशुल्क परीक्षण शिविर, ४३२ जनाले लिए सेवा

शनिबार, चैत ७, २०८२
Honor 600 pro

दंगीशरण(दाङ)।  दाङको दंगीशरण गाउँपालिकामा सिकल सेल एनिमिया तथा थालासेमिया रोगको निःशुल्क परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा दंगीशरण गाउँपालिका को समन्वयमा स्वास्थ्य चौकी हेकुलीमा आयोजित शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्नुभएको थियो।

शुक्रबार सम्पन्न उक्त शिविरमा कुल ४३२ जनाले रगत परीक्षण गराएका थिए। जसमध्ये १२२ जना पुरुष र ३१० जना महिला रहेका अस्पतालका प्रशासन अधिकृत सालिकराम कालाथोकीले जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष गिरीका अनुसार गाउँपालिकाका सबै ७ वटै वडाबाट, विशेषगरी थारु समुदायका नागरिकहरूले उत्साहजनक सहभागिता जनाएका थिए। सिकल सेल एनिमिया तथा थालासेमिया जस्ता वंशानुगत रोगको जोखिम उच्च हुने भएकाले थारु समुदायलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो।

प्रतिकूल मौसमका बाबजुद पनि उल्लेखनीय सहभागिता देखिएकाले यस्ता स्वास्थ्य शिविरहरू आगामी दिनमा समेत निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, सेवाग्राहीहरूको सहजताका लागि प्रत्येक वडाबाट बसको व्यवस्था समेत गरिएको थियो।

यस शिविरले स्थानीय स्तरमै रोग पहिचान र समयमै परामर्श सेवा उपलब्ध गराएर जनस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्