गस्तीमा गएका प्रहरीका असईमाथि बन्चरो प्रहार, प्रतिकारमा गोली चल्यो

बिहीबार, फागुन २८, २०८२

काठमाडौं । गस्तीमा खटिएको प्रहरीका असईमाथि बन्चरो प्रहार भएको छ। मकवानपुरको मनहरी गाउँपालिका–१ स्थित चकरी मकरी क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। बुधबार राति करिब ९ बजेतिर भएको उक्त घटनामा एक प्रहरी र एक स्थानीय व्यक्ति घाइते भएका छन्।

Honor x5c

प्रहरीका अनुसार गस्तीका क्रममा सामान्य विवाद उत्पन्न भएपछि स्थानीय शनिश तितुङले अचानक बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि हमला गरेका थिए। आक्रमणका क्रममा असई दिलबहादुर तामाङको हातमा बन्चरो प्रहार भई गम्भीर चोट लागेको बताइएको छ।

आफूमाथि साङ्घातिक आक्रमण भएपछि असई तामाङले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाएका थिए। सो क्रममा चलाइएको गोली तितुङको कोखामा लागेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनालाई तत्काल एम्बुलेन्समार्फत हेटौँडास्थित चुरे हिल अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि गोली लागेका तितुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर रिफर गरिएको छ भने असई तामाङको उपचार चुरे हिल अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरू अस्पताल पुगेर घाइते प्रहरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्रीले ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही गरिने बताएका छन्। साथै, घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्