चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली,६५ तोला सुनसहित पक्राउ

बिहीबार, माघ २२, २०८२

काठमाडौं । श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेका बाँकेका प्रेम थारुलाई काठमाडौं प्रहरीले गोली हानेर पक्राउ गरेको छ। 

काठमाडौं प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकाल क्षेत्रमा गएराति विशेष सूचनाका आधारमा थारुलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनुपरेको हो। घटना राति करिब साढे ११ बजेको समयमा भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार उनलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी हवल्दार पनि सामान्य घाइते भएका छन्। थारुको खुट्टामा गोली लागेको छ र उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको एसएसपी थापाले बताए ।

प्रहरीले थारूको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद रकम तथा घरेलु हतियार बरामद गरेको एसएसपी थापाले जानकारी दिएका छन् ।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनी काठमाडौं उपत्यकामा भएका विभिन्न चोरीका घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा रहेका व्यक्ति हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएपी थापाले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्