दाङमा प्रहरी जवान जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिए

आइतबार, माघ ११, २०८२
Honor 600 pro

दाङ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान मृत फेला परेका छन् ।  माघ ८ गते दिउँसो देखि सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरी जिसी मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

घोराही उपमहानगरपालिका–२ रामपुरका स्थायी बासिन्दा रहेका प्रहरी जवान जिसी माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर बाहिर निस्किएपछि सम्पर्कविहीन बनेका थिए। 

तीन दिनसम्म खोजी गर्दा उनको स्कुटी बाटोमा भेटिएको थियो भने थप खोजतलासका क्रममा घोराही उपमहानगरपालिका–१८ घरडौरास्थित जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरी स्रोतका अनुसार मृतक प्रहरी जवान  जिसीका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा उपचाररत रहेका बेला बिदा माग्दा स्वीकृत नपाएपछि उनी मानसिक तनावमा रहेको बताइएको छ।

यता जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठले घटनाको पोस्टमार्टम प्रक्रिया पूरा भइसकेको र जिसीको मोबाइल फोनको लक खुलेपछि मात्र मृत्युको कारणबारे थप स्पष्ट हुने बताएका छन् ।

दाङ प्रहरीले जवान मृत्यु घटनाबारे थप अनुसन्धान अगाडि बढाएको  जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्