बाँकेमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु

बिहीबार, माघ ८, २०८२

नेपालगञ्ज । बाँकेमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । यस पटकको यो अभियान बाँकेमा १६औं शृङ्खला हो । बाँकेका तीन पालिका नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा औषधि खुवाइँदैछ ।

नेपालगञ्जमा संचारकर्मीहरुसंगको छलफल कार्यक्रममा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमबारे जानकारी दिइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत राम कुमार महतोले हात्तीपाइले रोगको जोखिम र औषधि सेवनको महत्व र आवश्यकताबारे प्रस्तुतिकरण गरेका थिए । महतोले अभियान पुनः सञ्चालन गर्नुपर्ने बाध्यताको कारण स्पष्ट पारे । उनका अनुसार एकै पटक कम्तिमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव हुँदैन ।

तर, बाँकेका लक्षित पालिकामा त्यो मापदण्ड अझै पूरा हुन सकेको छैन । ‘एकै पटक ८० प्रतिशत मानिसले औषधि नखाएकै कारण हामीलाई १६औँ पटक पनि अभियान सञ्चालन गर्नुपरेको हो,' उनले भने–‘यसले हात्तीपाइले रोग निवारणलाई अझ चुनौतीपूर्ण बनाइरहेको छ।’ स्वास्थ्य कार्यालयका अनुसार बाँके जिल्लामा पछिल्लोपटक गरिएको सर्वेक्षणमा केवल ६२ प्रतिशत मानिसले मात्रै हात्तीपाइले विरुद्धको औषधि सेवन गरेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए ।

स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माले सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले सबैले दृढ संकल्पका साथ यो अभियानमा प्रतिबद्ध भई हातेमालो गरेमा सफलता हासिल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अभियानको उद्देश्यबारे प्रकाश पारेका थिए । 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्