नेपालगन्जको धम्बोझीबाट ठुलो परिमाणको खैरो हेरोइनसहित दुई जना पक्राउ

बुधबार, माघ ७, २०८२

नेपालगन्ज । लागुऔषध नियन्त्रण ब्यूरोले नेपालगन्जबाट ठूलो परिमाणको खैरो हेरोइनसहित लागुऔषधका दुई ठुला कारोबारी पक्राउ गरेको छ।

खैरो हेरोइनसहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका –१ का ४६ वर्षीय विशाल दुलाल र नेपालगन्ज उपमहानगरपालिका –१८ का ३७ वर्षीय युवराज रश्मी रहेको प्रहरीले जानकारी दिएको छ।

माघ ६ गते राति नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीमा  खैरो हेरोईन बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले उनीहरूलाई    धम्बोझी चोक नजिकबाट २८ ग्राम १२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खानतलासी गर्दा दुलालको पाइन्टको दाहिने खल्तीभित्र लुकाइ राखिएको अवस्थामा २८ ग्राम १२० मिलिग्राम  खैरो हेरोइन बरामद गरिएको हो ।साथै घटनास्थलबाट डिजिटल तराजु एक थान र दुई थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएपछि उनीहरुविरुद्ध  लागुऔषध मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।

ब्यूरोका अनुसार पक्राउ परेका  दुलाल बाँके जिल्लाकै  सबैभन्दा ठूलो लागुऔषध कारोबारीमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्