कोही नेपाली पैसा नभएकै कारण स्वास्थ्य उपचारबाट वञ्चित हुदैनन् : स्वास्थ्यमन्त्री

शनिबार, साउन २७, २०८०
honor २२ sept

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गरेका छन् ।

X7D

मन्त्री बस्नेतले आफनो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा भएका उपलब्धि एवं सुधारका पहल सार्वजनिक गर्ने क्रममा भने, “अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी र सरकारले धेरै काम गरेको छ भन्ने प्रमाणित हुने गरी मन्त्रालयले काम गर्नेछ ।”

कार्यक्रममा उनले आधारभूत स्वास्थ्य उपचारबाट कोही नेपाली वञ्चित नहुने बताए ।

“कोही नेपाली पैसा नभएका कारण मर्दैनन् । त्यसको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिनेछ”, मन्त्री बस्नेतले भने, “स्वास्थ्यका सबै बेथितिलाई हटाएर समस्या समाधान गर्ने र संविधानले व्यवस्था गरेको जनताको आधारभूत स्वास्थ्य उपचारको जसरी पनि व्यवस्थापन गर्छौं ।”

उनले सूर्तीजन्य पदार्थबाट सङ्कलन हुने करलाई स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रयोग हुनुपर्ने बताए।

आफ्नो कार्यकालको एक सय दिनको अवधिमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत भएका एक सय सात बुँदे महत्त्वपूर्ण क्रियाकलाप तथा प्रगति विवरण सार्वजनिक गरे ।

कार्यक्रममा उनले स्वास्थ्य क्षेत्र सुधारका पहलका लागि तथ्यमा आधारित निर्णय, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक न्याय, जनउत्तरदायी स्वास्थ्य क्षेत्र, नीतिगत सुधार र सुशासन तथा प्रशासनिक सुधारमा काम गरेको दाबी गरे ।

उनले आफ्नो एक सय दिनको कार्य अवधिमा कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरणको आवश्यकताअनुसार वितरण, गरिब तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शय्याको व्यवस्था, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०-२०९०) र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना निर्माण गर्न सफल भएको उल्लेख गरे । रासस

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्