डुडुवा घटना : दुबै घटना फौजदारी कसुरका, प्रहरीद्वारा सजगताका साथ अनुसन्धान सुरु

सोमबार, पुस २१, २०८२

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले डुडुवा गाउँपालिकामा घटेको दुबै घटनालाई गम्भीर रुपले अनुसन्धान भइरहेको जानकारी दिएको छ। पौष १७ गते बिहान करिब २ बजेको समयमा बाँकेको डुडुवा गाउँपालिका–४ मा सद्दाम खाँलाई मरणासन्न हुने गरी कुटपिट गरेको घटना र सोही घटनासँग सम्बन्धित रहेको नाबालिकामाथि बलात्कार घटनामा बाँके प्रहरीले गम्भीर भएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

Honor x5c

बाँके प्रहरी भन्छ -"सद्दाममाथि भएको घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्दार गरी उपचारका लागि नेपालगञ्ज न्यूरो हस्पिटल प्रा.लि. लगिएको थियो। त्यहाँ प्राथमिक उपचार पश्चात थप उपचारका लागि घाइतेलाई भारतको लखनउ लगिएको र पारिवारिक स्रोतबाट प्राप्त जानकारी अनुसार उनको अवस्था चिन्ताजनक नै रहेको छ।"

यसै घटनासँग सम्बन्धित एक नाबालिकामाथि बलात्कार भएको विषयमा समेत जानकारी प्राप्त हुनासाथ प्रहरीले विस्तृत स्वास्थ्य परीक्षणसहित गहिरो अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँके प्रहरीका अनुसार दुवै घटना गम्भीर प्रकृतिका फौजदारी कसूर भएकाले अनुसन्धानमा उच्च सजगता र संवेदनशीलता अपनाइएको छ। घटनामा संलग्न दोषीहरुको पहिचान तथा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत विशुद्ध आपराधिक घटनालाई राजनीतिक, धार्मिक वा साम्प्रदायिक भावनासँग जोडेर अतिरञ्जित प्रचार–प्रसार भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता कार्यले निष्पक्ष अनुसन्धान प्रभावित हुनुका साथै सामाजिक सद्भावमा समेत असर पर्न सक्ने बाँके प्रहरीको भनाइ छ।

प्रहरीले दोषीलाई तथ्य र प्रमाणका आधारमा कानूनी दायरामा ल्याई पीडितलाई पूर्ण न्याय दिलाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै, अनुसन्धानमा सहयोग पुग्ने सूचनाहरू उपलब्ध गराई  सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई बाँके प्रहरीले आग्रह गरेको छ।

साथै, अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले अनर्गल प्रचार गर्ने, आफैं अनुसन्धान गरी दोषी करार गर्ने, व्यक्ति वा समुदाय लक्षित दुष्प्रचार गर्ने तथा सामाजिक सद्भाव खल्बल्याउने कार्य गर्ने जो–कोहीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको छ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्