बाँकेबाट ब्राउनसुगरसहित श्रीमान–श्रीमतीसहित तीन जना पक्राउ

सोमबार, पुस २१, २०८२

बाँके। बाँके जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध ब्राउनसुगरसहित प्रहरीले श्रीमान–श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ।

Honor x5c

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ बाट अवैध लागुऔषध ब्राउनसुगर ६ ग्राम ३५० मिलिग्राम र नगद ८९ हजार ९ सय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा कोहलपुर–११ मा डेरा गरी बस्ने कालिकोटको रास्कोट नगरपालिका–५ घर भएका २३ वर्षीय मुकेश बम र उनकी २० वर्षीया श्रीमती कृपा तामाङ रहेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरू बस्दै आएको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको ब्राउनसुगर र नगद रकम फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यसैगरी बाँकेको खजुरा गाउँपालिका–७ गुनाहाना चोकबाट अवैध लागुऔषध ब्राउनसुगर १ सय १० मिलिग्राम सहित सोही स्थानका ४७ वर्षीय समि उल्ला भाटललाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्