४ किलो बढी कोकिनसहित ३ विदेशी नागरिक लागुऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा

बिहीबार, पुस १०, २०८२
Honor 600 pro

काठमाडौँ । लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँको सिनामङ्गल क्षेत्रबाट करिब साढे चार किलो अवैध लागुऔषध कोकिनसहित एक जना थाई र दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार हवाई मार्ग प्रयोग गरी नेपाल प्रवेश गर्ने विदेशी नागरिकको निगरानीका क्रममा उनीहरूलाई ४ किलो ३०० ग्राम कोकिनसहित नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र २१ वर्षीय मुर्सालेन हुसेन रहेका छन्।

ब्यूरोका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएअनुसार थाई नागरिक कामाले ५५० ग्राम कोकिन १२ वटा प्लास्टिक क्याप्सुलभित्र लुकाएर ल्याएकी थिइन्। उनी लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आइपुगेकी थिइन्।

यस्तै, लाओसबाट सिङ्गापुर हुँदै नेपाल आएका भारतीय नागरिक जेभियरले सुटकेसभित्र ३ किलो ७५० ग्राम कोकिन लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। अर्का भारतीय नागरिक मुर्सालेन भने सोही कोकिन लिन नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले नेपाललाई ट्रान्जिट बनाएर वा यहाँ बसेर अन्तर्राष्ट्रिय स्तरको कोकिन कारोबार गर्ने गरेको देखिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्