मानव तस्करीविरुद्ध कडा कदम चाल्न सरोकार केन्द्रको आह्वान, प्रहरी महानिरीक्षकलाई सुझाव पत्र

मंगलबार, पुस ८, २०८२
Honor 600 pro

काठमाडौं। सरोकार केन्द्रले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीलाई विभिन्न सार्वजनिक र प्रशासनिक विषय समेटेर ध्यानाकर्षक सुझाव पत्र प्रस्तुत गरेको छ। 

सरोकार केन्द्रबाट गएको पदाधिकारीको टोलिले सुझाव पत्रमा विशेषगरी बैदेशिक रोजगार र मानव तस्करी नियन्त्रणमा सुधारका उपायहरू प्रस्तुत गरेको महासचिव जीवन शर्माले जानकारी दिए। “हामीले वैदेशिक रोजगारसम्बन्धी चुनौतीहरू, रोजगारीका अवैध माध्यम र मानव तस्करी नियन्त्रणमा नेपाल प्रहरीले गर्न सक्ने पहलहरूलाई केन्द्रमा राखेर सुझाव पत्र तयार गरेर आईजीपी सापलाई बुझाएकाछौँ। यसले सम्बन्धित निकायहरूलाई नीति निर्माण र व्यावहारिक कदम चाल्न सहयोग पुर्‍याउनेछ।”

सुझाव पत्रमा समेटिएका मुख्य बुँदाहरूमा बैदेशिक रोजगारको पारदर्शिता र सुरक्षित माध्यम सुनिश्चित गर्ने उपाय ,मानव तस्करी र ओसारपसार रोकथामका लागि समन्वय र निगरानी बलियो बनाउने रणनीति ,सामाजिक जागरूकता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने सिफारिस लगायत छन् ।

सरोकार केन्द्रले स्थापना कालदेखि वैदेशिक रोजगारमा अलपत्र परेका नागरिकको उद्धार, सामाजिक सचेतना अभिवृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारमूलक सीप र नागरिक हकहितका लागि निरन्तर पहल गर्दै आएको छ। यस क्रममा २५ भन्दा बढी सामुदायिक विद्यालयमा जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिएको छ भने मानव तस्करी र वैदेशिक रोजगारको क्रममा अलपत्र परेका ४९ जनालाई उद्दार र ५५ जनालाई निशुल्क कानुनी सेवा उपलब्ध गराइएको छ।

आईजीपी कार्कीले पत्रलाई स्वागत गर्दै, नेपाल प्रहरीको नेतृत्वमा सुरक्षा व्यवस्थापन, कानुनी कार्यान्वयन र जनसहभागिता प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सरोकार केन्द्रको यो पहललाई नागरिक समाज र प्रहरीबीच सकारात्मक संवाद र सहकार्यको उदाहरणका रूपमा हेरिएको छ।

सरोकार केन्द्रको उद्देश्य लोकतान्त्रिक मूल्य, स्थायित्व र सुशासनमा टेवा पुर्‍याउनु हो। मानव बेचबिखन, वैदेशिक रोजगार ठगी, साइबर अपराध, लागुऔषध दुर्व्यसन, पर्यावरण संरक्षण, शिक्षा, स्वास्थ्य र रोजगारमूलक सीपका क्षेत्रमा सरकार र नागरिकबीच सेतुको भूमिका निर्वाह गर्नु यस संस्थाको मुख्य लक्ष्य रहेको छ।

विद्युतीय साइबर अपराध, अनलाइन ठगी, डिजिटल शोषण, सफ्टवेयर चोरी र बालबालिकामाथि हुने यौनजन्य अपराध रोकथामका लागि सरोकार केन्द्रले निरन्तर सामाजिक सचेतना र कानुनी ज्ञान अभिवृद्धिमा काम गर्दै आएको छ। यसका साथै, वैदेशिक रोजगार ठगी, मानव तस्करी र अन्य अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याएर अपराध न्यूनीकरण गर्न नेपाल प्रहरीको सक्रियता आवश्यक रहेको केन्द्रले जोड दिएको छ।

सरोकार केन्द्रको यो पहलले नागरिक, सुरक्षा निकाय र सरकारबीच सहकार्य बलियो बनाउने, मानव अधिकारको संरक्षण गर्ने र समाजलाई सुरक्षित, स्वस्थ र अपराधमुक्त बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।उक्त कार्यक्रमका प्रमुख संयोजक सरोकार केन्द्रका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोविन्द पन्थीको पनि सहभागिता रहेको थियो।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्