बाँके र दाङमा ठूलो परिमाणमा ब्राउन सुगरसहित ७ जना पक्राउ

सोमबार, पुस ७, २०८२
honor mob  winter sales

काठमाडौं । बाँके र दाङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणको ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  बैजनाथ गाउँपालिका–५ जि गाउँका २७ वर्षीय तिलक राना मगरलाई आइतबार राति १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो। प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ब्राउन सुगर फेला पारी पक्राउ गरेको जनाएको छ।

यसैगरी बाँकेको खजुरा गाउँपालिका–१ बाट सोही ठाउँ बस्ने २८ वर्षीय सिताराम विकलाई १ ग्राम ७ सय ९० मिलिग्राम ब्राउन सुगरसहित आइतबार राति पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले तुल प्रसाद थापाको घर तलासी गर्ने क्रममा उक्त ब्राउन सुगर फेला पारी सितारामलाई पक्राउ गरेको हो। घटनामा संलग्न रहेको आशंकामा फरार तुल प्रसाद थापाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

उता जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङ, लमही नगरपालिका–५ स्थित लमही बसपार्कबाट रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१२ का २६ वर्षीय सुजन परियारलाई १३ ग्राम २ सय ८० मिलिग्राम ब्राउन सुगरसहित गए राति पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

थप अनुसन्धानका क्रममा ब्राउन सुगर कारोबारमा संलग्न रहेको आरोपमा रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१२ का २७ वर्षीय बिबेक बुढामगर र भुमे गाउँपालिका–२ का २८ वर्षीय बिकाश पुन मगरलाई घोराही उपमहानगरपालिका–१४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यस्तै दाङको राप्ती गाउँपालिका–५ कालापानीबाट आइतबार दिउँसो ३१ ग्राम १ सय ६० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीका ३८ वर्षीय ईमरान सिद्दिकी हलवाई र नेपालगन्ज उपमहानगरपालिका–८ ज्वलाहापुरका ३८ वर्षीय नुरूद्दिन अन्सारी रहेका छन्। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन्।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्