नेपाली प्रवेश गराएका दुई क्यासिनोमा प्रहरीको छापा: महाप्रवन्धकसहित २० जना पक्राउ

सोमबार, पुस ७, २०८२
honor mob  winter sales

काठमाडौं । नेपाली नागरिकलाई गैरकानुनी क्यासिनो प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले दुईवटा क्यासिनोमा छापा मारेको छ। विराटनगरमा रहेका दुई क्यासिनोमा प्रहरीले चलाएको अपरेसनमा क्यासिनोका उच्च तहका कर्मचारीसहित २० जना नेपालीलाई नियन्त्रणमा लिइएको छ।

Honor x7 pad

प्रदेश प्रहरी कार्यालय कोशीले जानकारी दिएअनुसार जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालको नेतृत्वमा खटिएको टोलीले विराटनगरस्थित बिग होटलभित्र सञ्चालित ‘च्याम्पियन जोन क्यासिनो’ र रत्ना होटलभित्र रहेको ‘गोल्डेन क्यासिनो’ मा छापा मारेको हो।

कोशी प्रहरीका अनुसार गए राति ११ बजे गरिएको छापाका क्रममा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पक्राउ परेका छन्। त्यस्तै, रत्ना होटलस्थित क्यासिनोबाट १४ जना र बिग होटलस्थित क्यासिनोबाट ६ जना गरी जम्मा २० जना नेपाली नागरिकलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नेपालको प्रचलित कानुन अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ। तर, ती क्यासिनोहरूले कानुनको उल्लंघन गर्दै नेपालीलाई प्रवेश दिई ठूलो रकमको जुवा खेलाइरहेको सूचनाका आधारमा कारबाही गरिएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ।

एसपी कटुवालले छापाका क्रममा क्यासिनोभित्र नेपाली नागरिकहरू सहज रूपमा जुवा खेलिरहेको भेटिएको भन्दै क्यासिनो सञ्चालक र खेल्ने दुवै पक्षलाई कानुनी दायरामा ल्याइएको बताए।

पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्