सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको रक्तादान कार्यक्रममा ३० जनाले रगत दान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले संयुक्तरुपमा प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।
पत्रकार, सुरक्षाकर्मी लगायतका रगत दाता सबैलाई प्रमाणपत्र पनि वितरण गरिएको सचिव कृष्ण ओलीले जानकारी दिए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेको रक्तसञ्चार केन्द्रलाई कदर-पत्र प्रदान गरिएको थियो भने रक्तसञ्चार केन्द्रले पनि बाँके शाखालाई प्रशंसा-पत्र प्रदान गरेको थियो ।
सो अवसरमा १०६ पटक रक्तदान गरेका पत्रकार पवन जयसवाल सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाले जयसवाललाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाई, बाँके शाखा अध्यक्ष गिरी लगायतले जयसवाललाई दोसल्ला, अबिर र माला लगाई सम्मानपत्रसहित सम्मान गरेका हुन् । नेपालगञ्ज-१९ निवासी जयसवालले बर्षौंदेखि रक्तदान जस्तो पवित्र कार्य गर्दै मानव सेवा र कल्याणका लागि खेल्दै आएको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको शाखा अध्यक्ष गिरीले बताए । नेपालगञ्ज क्षेत्रमा बढ्दो रगतको मागलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको अध्यक्ष गिरीको भनाई छ ।