बर्दियाको बढैयातालबाट ब्राउन सुगरसहित दुई जना प्रहरीको नियन्त्रणमा

आइतबार, पुस ६, २०८२
honor mob  winter sales

 

Honor x7 pad

बर्दिया । बर्दियामा लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले १० ग्राम बढीको लागुऔषध ब्राउन सुगरसहित एक महिला गरी दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शनिबार दिउँसो  दिउँसो इलाका प्रहरी कार्यालय मैनापोखर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज, बाँकेबाट खटिएको संयुक्त टोलीले बढैयाताल गाउँपालिका–५ बढैयातालबाट ४१ वर्षीय दिनेश कुमार थारुलाई पक्राउ गरेको हो। 

हिँडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा थारुको साथबाट ११ पुडिया ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद ब्राउन सुगरको तौल ४६० मिलिग्राम रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ।

यस्तै, सोही दिन साँझ जिल्ला प्रहरी कार्यालय बर्दिया, प्रहरी चौकी जमुनी तथा सशस्त्र प्रहरी बल (बीओपी) फुटाहबाट खटिएको संयुक्त टोलीले बढैयाताल गाउँपालिका–२ स्थित फुटाह चेकपोष्टबाट २८ वर्षीया कृष्णा खत्रीलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी खत्रीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट १ पुडिया ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद ब्राउन सुगरको तौल १० ग्राम ८० मिलिग्राम रहेको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी  कार्यालयले बर्दियाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्