सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज। नेपालगन्जस्थित भेरी अस्पतालमा मृत घोषणा गरिएको शिशुमा ४ घण्टापछि जीवनको संकेत र फेरि मृत्यु भएको भनिएको घटनाका विषयमा अस्पतालले बनाएको आन्तरिक छानवीन समितिको प्रतिवेदनबारे पत्रकारहरुलाई जानकारी गराइएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले आज विहान अस्पतालमै पत्रकार सम्मेलनको आयोजना गरी यस्ता घटनालाई दुर्लभ भन्दै बिरामीका आफन्तलाई सञ्चार र परामर्शमा भएको कमजोरी भएपनि उपचार प्रक्रियामा अपनाउनुपर्ने प्रोटकलमा भने कुनै कमजोरी नभएको बताए ।
मंसिर २५ गते पेट दुखाइका कारण एक गर्भवती महिला भेरी अस्पतालको लेबर कक्षमा भर्ना भएकी थिइन् । २८ गते गर्भ खसेपछि शिशुमा मुटुको चाल र श्वास–प्रश्वास जस्ता जीवनका कुनै संकेत नदेखिएको भन्दै मृत घोषणा गरी परिवारलाई हस्तान्तरण गरिएको थियो ।
तर हस्तान्तरण भएको करिब चार घण्टापछि शिशुमा जीवन संकेत देखिएपछि परिवारले सञ्जीवनी अस्पतालमा भर्ना गरी उपचार गराएका थिए । उपचारकै क्रममा २९ गते शिशुको मृत्यु भएको थियो ।
डा.विवेक महतो नेतृत्वको छानवीन समितिले तयार पारेको प्रतिवेदनबारे जानकारी गराउँदै प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदीका अनुसार गर्भवती महिला अस्पताल आउँदा पाठेघरको पानीको फोका फुटिसकेको अवस्था थियो ।
गर्भ अवधि केवल २३ हप्ता पुगेको, भिडियो एक्स–रेमा शिशुको तौल ६१७ ग्राम मात्र देखिएको, मुटुको चाल कमजोर रहेको तथा आमालाई ज्वरो र रगतमा संक्रमणका लक्षण देखिएकाले गर्भावस्था निरन्तरता दिन नसकिने अवस्था थियो।
जन्मका समयमा शिशुमा जीवनका कुनै संकेत नदेखिएको, गर्भ अवधि २८ हप्ताभन्दा कम र तौल १००० ग्रामभन्दा कम भएकाले बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको निष्कर्षसहित परिवारलाई हस्तान्तरण गरिएको उनले प्रष्ट पारे । यो बारेमा बिरामीका आफन्त र उनीहरुसँगै आएका स्वास्थ्यकर्मीलाई समेत जानकारी गराईएको मेसु सुवेदीले बताए ।
जन्मिएका र अत्यन्तै कम तौल भएका शिशुमा कहिलेकाँही श्वासप्रश्वास, मुटुको चाल वा अन्य कुनै पनि जीवनचिन्ह नदेखिने सम्भावना हुन्छ । ‘यो केसमा पनि भएको यही नै हो उनले भने-‘सस्पेन्डेड एनिमेसन र लाजरस फेनोमेनन जस्ता दुर्लभ अवस्था देखिँदा जीवन संकेत ढिलो गरी देखा पर्न सक्छ ।’
तर उनले आफन्तलाई जटिलताबारे पर्याप्त सञ्चार र परामर्शमा अस्पतालबाट कमजोरी भएपनि उपचार प्रक्रियामा भने कमजोरी नभएको बताए । आगामी दिनमा थप सहजगता र सावधानीका लागि अस्पताल प्रशासन गम्भीर रहेको उनले बताए ।