हर्क साम्पङका पार्टी उपाध्यक्ष राजकुमार विस्फोट पदार्थ मुद्दामा पक्राउ

मंगलबार, पुस १, २०८२
honor mob  winter sales

काठमाडौँ । विस्फोटक पदार्थसम्बन्धी पुरानो मुद्दामा फरार रहेका श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। उनी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको उक्त पार्टीका केन्द्रीय उपाध्यक्ष हुन्।

Honor x7 pad

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५० वर्षीय लामालाई मंगलबार काठमाडौँको कपन क्षेत्रबाट नियन्त्रणमा लिएको हो। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनी लामो समयदेखि फरार सूचीमा थिए।

प्रहरी रेकर्डअनुसार लामा २०६८ सालमा काठमाडौँको बबरमहलमा भएको घातक बम विस्फोट घटनासँग पनि जोडिएका थिए। उक्त विस्फोटमा तीन जनाको ज्यान गएको थियो। घटनापछि फरार रहेका उनलाई प्रहरीले पछि पक्राउ गरी अभियोजन गरेको थियो।

बबरमहल प्रकरणमा दोषी ठहर भई नख्खु कारागारमा सजाय काटेका लामा २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रिहा भएका थिए। त्यसपछि पनि पाँचथरको भुसपातेमा २०६९ सालमा विस्फोटक पदार्थसहित पक्राउ परेको मुद्दा अदालतमा अझै टुंगो लाग्न बाँकी रहेको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न सीआईबीले पाँचथर पठाएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्