खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित दर्जनबढी सवारीसाधन प्रहरीको नियन्त्रणमा

आइतबार, मंसिर २८, २०८२

बाँके । खजुरा गाउँपालिका क्षेत्रभित्र अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खजुरा गाउँपालिका–५, ६ र ८ का विभिन्न स्थानमा ऐलानी जग्गाबाट अवैध रूपमा माटो तथा बालुवा उत्खनन् र ढुवानी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले एउटा  जेसीबी, एउटा टिपर  र ११ वटा  ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

नियन्त्रणमा लिइएका सबै सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि खजुरा गाउँपालिकाको कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  गाउँपालिकाले नियमविपरीत उत्खनन् तथा ढुवानी गरेका सबै सवारीसाधनलाई लाखौँ रुपैयाँ बराबरको जरिवाना तिराएर छोडिएको हो।

अवैध उत्खनन्का कारण वातावरणीय जोखिम बढ्दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडाइ गर्ने जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्