बर्दियामा दाङका निरज चौधरी हत्या घटना:मुख्य आरोपी फरार महावीर चौधरी कैलालीबाट पक्राउ

बिहीबार, मंसिर २५, २०८२

बर्दिया । बर्दियाको राजापुर नगरपालिका–४ स्थित ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’मा भएको गोलीकाण्डका मुख्य आरोपी महावीर चौधरीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)  डेनी स्वारको कमाण्डमा गएको ४ जना र इलाका प्रहरी कार्यालय राजापुरका इन्स्पेक्टरको टोलीले गोप्य सूचनाका आधारमा महावीरलाई कैलालीको कैलारी गाउँपालिका–१ मझरा गाउँमा लुकेर बसेको अवस्थामा आज बिहान ३ बजे नियन्त्रणमा लिएको हो।

Honor x7 pad

तुलसीपुर-६ का ५१ वर्षीय महावीरले मंसिर २० गते बिहान आफ्नै होटलमा दाङको तुलसीपुर-६ कै २८ वर्षीय निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरेका थिए। मृतक निरज र महावीर नाताका आफन्त रहेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानले महावीरले निरजलाई ‘तल्लो बाटो’ प्रयोग गरी अमेरिका पठाइदिने भन्दै विगतमा लाखौँ रुपैयाँ असुलेको र सोही रकम फिर्ता माग्दा विवाद चर्किएपछि उनले गोली प्रहार गरेको पुष्टि गरेको छ। घटनास्थलबाट प्रहरीले पेस्तोलको गोलीको खोका, महावीरको पासपोर्ट तथा भिजा समेत बरामद गरेको थियो। हत्यामा प्रयोग भएको पेस्तोलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

गोली प्रहारपछि निरज भुइँमा ढले पनि महावीरले नजिकको बर्दिया जिल्ला अस्पतालमा नपुर्‍याई बाँकेको नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल पठाएका थिए। अस्पताल पुगेपछि चिकित्सकले निरजलाई मृत घोषणा गरेका थिए। निरजको मृत्यु पुष्टि भएपछि महावीर घटनास्थलबाट फरार भएका थिए।

यस घटनामा महावीरकी साली रामकुमारी थारु, उनका श्रीमान् बुद्धि थारु तथा २२ वर्षीय छोरा राहुल थारुलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको हो। घटनास्थलको प्रमाण मेटाउने, सरसफाइ गर्नेलगायत क्रियाकलापमा उनीहरूको संलग्नता रहेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रवक्ता प्रकाशसिंह कार्कीले बताएका छन्।

हत्याकाण्डसँग राजनीतिक परिवारको नाता पनि जोडिएको देखिएको छ। महावीर लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका सहोदर साँइला भाई हुन्। मृतक निरज समेत महावीरकै दाजु डिल्लीबहादुर चौधरीको राजापुरस्थित पोल्ट्री फार्म हेर्ने कामका लागि त्यही क्षेत्रमा बस्दै आएका थिए।

महावीर भारत भाग्न सक्ने आशंकामा बर्दिया प्रहरीले बाँके, कैलाली प्रहरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) सहित भारतीय प्रहरीसँगसमेत समन्वय गरेर सीमा नाकामा कडा निगरानी बढाएको थियो। कडाइका कारण भाग्न नसकेका महावीर अन्ततः कैलालीमा लुकेको अवस्थामा वरिष्ठ सई डेनीको टोलीले पक्राउ गर्दै उनको सीमापार भाग्ने योजनालाई विफल पार्न सफल भएको हो।

पक्राउ परेका महावीरलाई प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय राजापुरक जिम्मा लगाइएको छ। घटनासम्बन्धी थप विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्