ग्रामीण क्षेत्रमा बाँझोपनको बढी समस्या, यस्ता छन् कारण !

शुक्रबार, साउन २६, २०८०
honor २२ sept

काठमाडौं । चिकित्सकहरूले ग्रामीण क्षेत्रका हुने बाँझोपनको समस्या बढ्दै गएको भन्दै  चिन्ता व्यक्त गरेका छन् ।

X7D

पछिल्लो केही वर्षयता युवाहरु विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको चिकित्सकहरूले  बताएका हुन् । 

चिकित्सकहरुले बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको बताएका छन् । बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रह समेत उनीहरुले  गरेका छन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कृतिपाल सुवेदीले बाँझोपन हुनुमा महिला र पुरुषको भूमिका समान हुने बताए । 

उनले विवाह पश्चात् पुरुषहरू वैदेशिक रोजगारीमा जानु पनि बाँझोपनको कारण रहेको औँल्याए । उनले खाडी मुलुकमा गएका पुरुषहरू नेपालमा फर्किँदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकीट उत्पादनमा ल्याउने ह्रास रहेको पनि बताए । 

डा.सुवेदीले एक वर्ष वा एक वर्ष भन्दा बढी समयसम्म श्रीमान् श्रीमती अस्थायी परिवार नियोजनको साधन बिना यौन सम्पर्क गर्दा पनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिने बताए । डा.सुवेदीले सरकारले बाँझोपनबारे प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसकेको बताए ।

वंशाणुगत रोग विशेषज्ञ डा.निलम ठाकुरले बाँझोपन थाहा पाउन महिला पुरुषको स्वास्थ्य जाँच गर्नुपर्ने र बाँझोपनको कारण पत्ता लगाइसकेपछि मात्रै उपचार प्रक्रिया थाल्नुपर्ने बताइन् । डा.ठाकुरले निःसन्तानपनले मानसिक समस्या निम्त्याएको बताइन् । समाजमा बाँझोपन बढ्दै गएको भन्दै बाँझोपन सम्बन्धी सरकारले नीति ल्याउन आवश्यक रहेको बताइन्।

भ्रूण रोग विशेषज्ञ डा.विनीता थापाले निःसन्तानपनको उपचार गर्न केही समय लाग्ने बताइन्। उनले निःसन्तान कसरी हुन्छ भनेर शुरुमा आम नागरिकमा जनचेतना जगाउन आवश्यक रहेको बताइन् । थापाले निःसन्तानको उपचारका लागि महिनावारीको दोस्रो दिनबाट शुरु भई १३-१४ दिनसम्म स्क्रिनिङ नै गरेर राख्ने गरिएको बताइन् ।

लामो समय लाग्ने हुँदा उपचारका लागि विकट ठाउँबाट आउनेहरूका लागि निकै समस्या हुने गरेको बताए । उनले निःसन्तानबारे जनचेतना जगाउन आवश्यक रहेको धारणा राखिन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्