सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरीका असईले आफ्नै ४ महिने छोराको हत्या गरेका छन् । हत्या गरे पश्चात् भाग्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।
डोटी घर भएर हाल काठमाडौंको सिनामंगलमा डेरामा बस्दै आएका नेपाल प्रहरीका २९ वर्षीय असई पुष्कर कार्कीले विवादका क्रममा आफ्नै ४ महिने छोराको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका आइतबार अपराह्न छोराको उपचार गराउने विषयमा झगडा हुँदा श्रीमती विष्णा साउदमाथि पनि कुटपिट गर्दै ४ महिने छोरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। कुटपिटबाट नेपाल प्रहरीकै जवान विष्णा घाइते भएको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरीका अनुसार उनीहरू दुवैजना श्रीमान् श्रीमती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए। छोराको हत्या गरेर उपत्यकाबाट भाग्ने क्रममा असई कार्कीलाई आइतबार साँझ ६ बजे नागढुंगा चेकपोष्टबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
कुटपिटबाट घाइते प्रहरी जवान विष्णाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने पक्राउ परेका असई कार्कीलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।