खजुरा क्षेत्रको नेपाल–भारत सीमामा सीमा अपराध रोक्न दुवै देशका सुरक्षा निकायको संयुक्त पैदल गस्ती

बुधबार, मंसिर १७, २०८२

बाँके  । नेपाल–भारत सीमामा बढ्दै गएको सीमा अपराध नियन्त्रण तथा सीमा सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ खजुरा क्षेत्र अन्तर्गत संयुक्त पैदल गस्ती सञ्चालन गरिएको छ।

इलाका प्रहरी कार्यालय धनौली, सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा चौकी (बी.ओ.पी.) बढैया र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को सीमा चौकी बक्सीबाट खटिएको संयुक्त टोलीले सीमावर्ती क्षेत्रमा पैदल गस्ती गरेको हो।

गस्तीका क्रममा सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध आवतजावत, झैँ–झगडा तथा अन्य आपराधिक गतिविधिको रोकथाम र नियन्त्रणमा विशेष ध्यान दिइएको जनाइएको छ। साथै, सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै नेपाल र भारतका समकक्षी सुरक्षा निकायबीच आपसी समन्वय, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसमेत रहेको बताइएको छ।

इलाका प्रहरी कार्यालय धनौलीका अनुसार संयुक्त गस्तीले सीमा अपराध न्युनिकरण गर्न सहयोग पुग्नुका साथै सीमावर्ती क्षेत्रका सर्वसाधारणमा सुरक्षाको अनुभूति बढाउने विश्वास गरिएको छ। यस्ता गस्तीलाई आगामी दिनहरूमा पनि आवश्यकता अनुसार निरन्तरता दिइने जनाइएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्