एनपीएलमा खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव राख्ने प्रेमी-प्रेमिका पक्राउ

बिहीबार, मंसिर ४, २०८२
Honor 600 pro

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेलाडीलाई सट्टाबाजीमा संलग्न गराउने उद्देश्यले आर्थिक प्रलोभन देखाउने दुई जना लाजिम्पाटबाट पक्राउ परेका छन्।

नेपाल क्रिकेट संघले (क्यान) ले मंसिर १ देखि २७ गतेसम्म सञ्चालन गरिरहेको प्रतियोगिताका केही खेलाडीलाई स्पोन्सर गर्छौं भन्दै सन्देश पठाई खेलको हार–जीतमा प्रभाव पार्न खोजिएको विशेष सूचना नै खेलाडीले प्रहरीलाई प्रदान गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।

उक्त सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंसिर २ गते काठमाडौँ महानगरपालिका–२, लाजिम्पाटबाट भारत हरियाणा पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया बारबर्दिया–८ घर भई हाल भारत चण्डिगढ बस्ने २४ वर्षीया रेविका सिंह ठकुरीलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु प्रेमी-प्रेमिका भएको खुलेको एसली आचार्यले बताए। एसपी आचार्यका अनुसार उनीहरुले म्याच फिक्सिङ गराएर बेटिङ एपबाट करोडौं कमाउने योजना बनाएको खुल्न आएको हो।

पक्राउ परेका दुवै जनालाई प्रारम्भिक सोधपुछपछि आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत खेलाडीलाई लोभ–लालच देखाई खेलको नतिजामा हस्तक्षेप गर्ने प्रयास गरेको पुष्टि भएपछि कारबाही अघि बढाइएको हो अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ०८:०८
प्रतिक्रिया दिनुहोस्