जेलबाट छुटेर घर आएकै दिन श्रीमानले गरे श्रीमतीको हत्या

मंगलबार, कात्तिक २५, २०८२
honor mob  winter sales

काठमाडौं । जेलबाट छुटेकै दिन श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पर्वतको मोदी गाउँपालिका-६ दराकका ५१ वर्षीय जीतबहादुर विकले जेलबाट छुटेकै दिन गए राति ५२ वर्षीया श्रीमती सीता विकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। 

जीतबहादुर जेलबाट छुटेर  घर आएपछि श्रीमती सीतालाई कुटपिट गरी गम्भीर घाइते बनाएको पर्वत प्रहरीले जनाएको छ।कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक सीताको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गरी सोमबार नै श्रीमतीले धरौटी तिरेपछि छुटेका थिए। प्रहरीका अनुसार, घर पुगेकै दिन साँझ खाना खाइसकेपछि उनले श्रीमतीमाथि जाइलागेका थिए।

कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेकी थिइन्। देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर स्थानीयले नियन्त्रणमा लिएर थुनेर राखेका अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए।

उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए। पर्वत प्रहरीले  घटना बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्