नेपाल ट्रष्टको जग्गा अनियमितता काण्डमा तत्कालीन सहसचिव कार्की पक्राउ

शनिबार, कात्तिक २२, २०८२

काठमाडौं,। ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाडौंका तत्कालीन सहसचिवलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ  ६६ वर्षीय तत्कालीन सचिव लेख बहादुर कार्की रहेका छन् । अवकाश भइसकेका चितवनको भरतपुर महानगरपालिका-१५ बस्ने ६६ वर्षीय कार्कीलाई नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिनेरलिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने - लिने सम्झौता संचालक समितिको निर्णय र आधार विना वदनियत पूर्वक भएको खुल्न आएको छ । 

साथै नेपाल ट्रष्टको नाममा ‍रहेको जग्गा निर्माण अवधि ३ वर्ष समेत ३० वर्षको लागि लिजमा दिनेर लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ जेठ १४ गते करार सम्झौता गरेको र लिजमा लिने लाभ ग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरूले गैर कानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको एवम् उक्त कार्यबाट नेपाल ट्रष्ट मार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुर्‍याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको खुल्न आएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

पक्राउ परेका कार्कीसँग सीआईबीले थप अनुसन्धान  जारी राखेको  प्रहरी प्रधान कार्यालयले जनाएको  छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्