प्रदेश मुल्यांकनमा जिल्ला अस्पताल बर्दिया र स्वास्थ्य कार्यालय पाल्पा पहिलो स्थानमा

शनिबार, कात्तिक २२, २०८२
honor mob  winter sales

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१-०८२ को प्रदेश स्तरीय मूल्यांकनमा जिल्ला अस्पताल बर्दिया र स्वास्थ्य कार्यालय पाल्पा यस वर्ष पनि पहिलो स्थानमा रहन सफल भएका छन् ।

Honor x7 pad

स्वास्थ्य कार्यक्रमहरूको सफल कार्यान्वयन र विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्यांकनमा बर्दिया अस्पतालले प्रदेशका जिल्ला स्तरीय अस्पतालहरूबीच उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो ।यस वर्षको प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ लगायतले अस्पतालका प्रमुख डा सुवास पाण्डेलाई प्रथम स्थानको प्रमाणपत्र प्रदान गरेका हुन् ।

अस्पतालका प्रमुख डा पाण्डेले टिम-वर्क र पारदर्शिताको कारणले बर्दिया अस्पतालले यो उत्कृष्टता हासिल गर्न सफल भएको बताउँदै निरन्तरको सफलताका लागि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरेका छन् । डा पाण्डेले अनेक समस्याका बाबजुद अस्पताल प्रदेशमा पहिलो भएकोमा खुसी समेत व्यक्त गरे ।

अस्पताल गत आर्थिक वर्षमा समेत प्रदेशभरका १३ अस्पतालहरुमध्ये पहिलो भएको थियो । यस वर्ष ७०.२४ प्रतिशत अंकका साथ बर्दिया अस्पतालले प्रथम स्थान हासिल गर्दा ६९.७४ प्रतिशत अंकका साथ अर्घाखाँची अस्पताल द्वितीय र ६८.७४ प्रतिशत अंकका साथ लुम्बिनी प्रादेशिक अस्पताल तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । मूल्यांकन १२ वटा प्रमुख सूचकका आधारमा गरिएको हो । ती सूचकहरूमा अस्पतालहरूको सेवा, पारदर्शिता, वित्तीय प्रगति र प्रतिवेदन प्रणालीमा आधारित कार्य-क्षमता लगायत समावेश छन् ।

त्यसैगरी स्वास्थ्य कार्यालयतर्फ पाल्पा कार्य सम्पादनमा लगातार तेस्रो पटक पहिलो स्थान कायम राख्न सफल भएको हो । पाल्पाले ७३ दशमलव ५६ प्रतिशत अंक हासिल गरेको छ ।

आर्थिक वर्ष ०७९-०८० र ०८०-०८१ मा पनि पाल्पा पहिलो भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा देउखुरीमा भएको आर्थिक वर्ष ०८१-०८२ को प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो भएको घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुक प्रसाद पोखरेलले सेवाको गुणस्तर, डाटा व्यवस्थापन, मानव संशाधन दक्षता, समुदाय सहभागिता, पूर्वाधार र कार्यक्रम कार्यान्वयन जस्ता सूचकहरुलाई प्रभावकारी गराउँदा उत्कृष्ट भएको बताए ।यस्तै दोस्रो भएको रोल्पा स्वास्थ्य कार्यालयले ७१ दशमलब ०५ प्रतिशत र तेस्रो भएको रुकुम पूर्व स्वास्थ्य कार्यालयले ७० दशमलव ६४ प्रतिशत अंक ल्याएका छन् । यस्तै गुल्मी चौथौ, प्यूठान पाँचौं, अर्घाखाँची छैठौं, बाँके सातौं, नवलपरासी पश्चिम आठौं, रुपन्देही नवौं, दाङ दशौं, बर्दिया एघारौं र कपिलवस्तु बाहैं भए । लगातार तीन वर्ष एघारौं स्थानमा पर्ने बाँकेले भने यो पटक सुधार गरेको छ । अहिले सातौं स्थानमा परेको हो ।

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह