सुर्खेत प्रहरी हिरासतमा लागुऔषध मुद्दाका थुनुवाको मृत्यु

शुक्रबार, कात्तिक २१, २०८२
Honor 600 pro

सुर्खेत । सुर्खेत प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ।सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा लागुऔषध मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर-११ पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएको हो।

गंगेको आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान ६ बजे सँगै सुतेका साथीले उठाउन खोज्दा बेहोस अवस्थामा फेला परेका गंगेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृत्युपछि प्रहरीले हिरासत कक्षको सीसीटीभी फुटेज जाँच गर्दा त्यहाँ कुनै असामान्य गतिविधि नदेखिएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

लागुऔषधसहित पक्राउ परेका गंगे ७८ दिनदेखि हिरासतमा थिए र आज नै उनको मुद्दाको पेसी समेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतलेजनाएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्