थप चार डायलाइसिस मेसिन भेरी अस्पतालबाट सञ्चालन, मिर्गौला बिरामीका लागि ठूलै राहत

मंगलबार, कात्तिक ११, २०८२
honor २२ sept

नेपालगन्ज। नेपालगन्जस्थित भेरी अस्पतालले मिर्गौला पीडितका लागि थप चारवटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएपछि उपचार लिन आउने बिरामीलाई ठूलो सहजता मिल्ने भएको छ । अस्पतालले थप चारवटा मेसिन सञ्चालनमा ल्याएसँगै दैनिक उपचार क्षमतामा उल्लेख्य वृद्धि भएको छ ।

X7D

यसअघि अस्पतालमा रहेका ६ वटा मेसिनमार्फत तीनवटा सिफ्टमा दैनिक १८ जनाको मात्र डायलाइसिस हुँदै आएको थियो । अब कुल १० वटा मेसिनमार्फत तीन सिफ्टमा दैनिक ३० जना बिरामीले सेवा लिन सक्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले बताए। अस्पतालका नर्सिङ निरीक्षक बिना घलेका अनुसार तीमध्ये दुईवटा मेसिन विशेष रूपमा सेरोपोजेटिभ बिरामी (जस्तै हेपाटाइटिस र एचआईभी संक्रमित)का लागि छुट्याइएको छ।

'संक्रमण नियन्त्रण र संवेदनशीलताका दृष्टिले यी बिरामीलाई अलग्गै सुविधा दिइएको हो’-घलेले  भनिन। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुवेदीले मेसिन थप भएपछि डायलाइसिस सेवामा देखिएको भीड र पालो कुर्नुपर्ने समस्या धेरै घट्ने बिश्वास व्यक्त गरे । उनले भने-बिरामीहरुले दिनौंदिन पालो पर्खनुपर्थ्यो । अहिले भने थप मेसिनले बिरामीलाई राहत दिएको छ । धेरै जनाको समयमै उपचार सम्भव भएको छ।डायलाइसिसका लागि पालो नपाउदा कतिपय बिरामीहरु महंगो रुपैयाँ तिरेर निजि अस्पतालबाट सेवा लिन बाध्य थिए ।

डा. सुवेदीका अनुसार, स्वास्थ्य विभागबाट तीनवटा नयाँ मेसिन प्राप्त भएका हुन् भने एउटा मेसिन अस्पतालले आफ्नै स्रोतबाट मर्मत गरी सञ्चालनमा ल्याएको हो । साथै, पुराना बेडहरुको पनि मर्मत र सुधार गरिएको छ, जसले सेवा गुणस्तरमा थप सुधार ल्याएको छ । अस्पतालले डायलाइसिस वार्ड विस्तारसँगै एनआइसीयू (नवजात शिशु गहन उपचार इकाई) क्षेत्रका बेड पनि व्यवस्थित गरेको छ ।

कोभिड महामारीको समयमा सञ्चालन गरिएको पुरानो आइसीयूलाई नयाँ भवनमा सारिएको र त्यहाँको स्थान प्रयोग गरी डायलाइसिस सेवा अझ विस्तारित गरिएको डा.सुवेदीले बताए । नेपालगन्ज र आसपासका जिल्लाबाट दैनिक रूपमा आउने मिर्गौला पीडित बिरामीहरुको चाप बढ्दै जाँदा उपचारको सहज पहुँच चुनौती बनिरहेको बेला भेरी अस्पतालले ल्याएको यो कदम मिर्गौला रोगीहरुका लागि राहतको बनेको हो ।

उपचारका लागि अस्पताल पुगेका स्थानीय मिर्गौला पीडित बिरामीले अस्पतालको सेवा बिस्तारसंगै खुशी मिलेको बताए । एक जना बिरामीले भने-'पहिले डायलाइसिसका लागि हप्तौं पालो कुर्नुपर्थ्यो, अब भने छिटै सेवा पाउन सकिन्छ कि भन्ने आशा जागेको छ ।' भेरी अस्पतालले यसअघि पनि मिर्गौला उपचारका क्षेत्रमा प्रदेशमै भरपर्दो सेवा दिँदै आएको छ । अहिले मेसिन थप हुनु र बेडमा समेत सुधार गरिएसंगै अस्पतालमा डायलाइसिसको क्षमता र पहुँच दुवै गुणात्मक रूपमा सुधारिएको छ ।

यसरी, थप चारवटा डायलाइसिस मेसिनको सञ्चालनले भेरी अस्पताल प्रदेशमै मिर्गौला उपचारका लागि अझ सबल केन्द्रका रूपमा उभिएको छ । जसले बाँकेका मात्र नभएर बर्दिया, सुर्खेत, दाङ र कैलालीसम्मका बिरामीलाई पनि ठूलो राहत दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्