प्रदर्शनका क्रममा प्रहरीको हत्यामा संलग्न थप २ पक्राउ, ४ जना यसअघि नै कारागार चलान

मंगलबार, कात्तिक ११, २०८२
Honor 600 pro

काठमाडौं । काठमाडौंस्थित प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

जेनजी प्रदर्शनमा जवान थापाको हत्या आरोपमा प्रहरीले सुकेधारा क्षेत्रबाट सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका-४ घर भएका २७ वर्षीय सौरभ तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रहरीको अनुसन्धानका क्रममा उनीहरु दुबैलाई सिसिटिभी फुटेजको आधारमा प्रहरी वृत्त महाराजगञ्ज पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका दुबै जनाले  प्रहरी कार्यालयमा आगजनी, तोडफोड गर्नुको साथै जवान थापामाथि आक्रमण तथा कुटपिट गरेको भिडियोमा देखिएको छ ।

प्रदर्शनका क्रममा महाराजगञ्ज वृत्तका जवान थापासँगै असई मिलन रायको पनि हत्या भएको थियो। त्यसैगरी कोटेश्वर प्रहरी प्रभागका कार्यरत अमृत गुरुङको पनि हत्या भएको थियो। राष्ट्रसेवक प्रहरीहरुको हत्या आरोपमा यसअघि पक्राउ परेकाहरुमध्ये ४ जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाइसकेको छ भने ६ जनाविरुद्ध अनुसन्धान जारी रहेको अवस्थामा प्रहरीले जवान उत्तमको हत्याको आरोपमा थप दुई जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्