जाजरकोटमा जात्रा हेर्न गएका दैलेखका युवकको हत्या घटनामा नौमुलेकै ६ युवक पक्राउ

सोमबार, कात्तिक १०, २०८२
honor २२ sept

दैलेख । जात्रा हेर्न जाजरकोट पुगेका दैलेखका एक युवकको हत्या भएको छ। दैलेखको नौमुले गाउँपालिका-४ उत्तिसेनाका ३९ वर्षीय लाल बहादुर पुनको जात्रा हेर्न गएका बेला भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

X7D

जाजरकोटको जुनीचाँदे गाउँपालिका-४ पंकमा लाग्ने भुवा जात्रा हेर्न गएका बेला लाल बहादुरको हत्या गरेको आरोपमा पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका-४ भित्रिखोलाका २९ वर्षीय पदम बहादुर रोका मगर, २८ वर्षीय नर बहादुर गुरुङ, २८ वर्षीय वीरेन्द्र रोका मगर, ३२ वर्षीय तिलक घर्ती मगर, २९ वर्षीय लक्ष्मण सुनार र २८ वर्षीय कमल रानामगर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर हरिराम डाँगीले जानकारी दिएका छन् ।

इन्स्पेक्टर डाँगीका अनुसार कात्तिक ३ गते साँझदेखि  जुनीचाँदे गाउँपालिका-४ पंकमा रहेको दलसरा रावतको बारीमा मेला लागेको मेलाको भोलिपल्ट ४ गते बिहान ३ बजे लाल बहादुरलाई उनीहरुले कुटपिट गरि गम्भीर घाइते बनाएका थिए। कुटपिटबाट घाइते भएका लाल बहादुरलाई उनका दुई साथी वीर बहादुर घर्ती र विवेक बुढाले घटनास्थलबाट आफ्नो घर लगेका थिए।

त्यसको भोलिपल्ट ५ गते लाल बहादुर साथीहरुसँग घर जाने भनेर पंक गाउँकै दलवीर रावतको घर पुगेको जाजरकोट प्रहरीले जानकारी दिएको छ। ५ गते राति दलवीरको घरमा सुतेका लाल बहादुर कात्तिक ६ गते बिहान मृत फेला परेका थिए।

लाल बहादुरलाई कुटपिट गरेर घटनास्थलबाट फरार भएका सबैलाई जाजरकोट  र दैलेख प्रहरीको समन्वयमा कात्तिक ७ गते दुबै जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको इन्स्पेक्टर डाँगीले बताए।

पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाजरकोट अदालतबाट म्याद लिएर थप आबश्यक अनुसन्धान गरिरहेको इन्स्पेक्टर डाँगीले जानकारी दिएका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्