बाँकेको बाल सुधारगृहबाट भागेका ४८ जना पक्राउ

आइतबार, भदौ २९, २०८२
honor mob  winter sales

बाँके  । बाँकेका दुईवटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३ सय ४२ बालबन्दी र कैदीबन्दीमध्ये हालसम्म ४८ जना पक्राउ परेका छन् । प्रहरीले २ सय ९४ जना अझै फरार रहेकाले खोजी भइरहेको जनाएको छ । 

Honor x7 pad

जिल्लाको वैजनाथ गाउँपालिकास्थित नौवस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बालसुधार गृहबाट भागेका १९५ बालबन्दीमध्ये ३५ जना पक्राउ परेको तथा नौवस्ता कारागारबाट भागेका १४७ कैदीबन्दीमध्ये १३ जना पक्राउ परेको बालसुधार गृह र नौवस्ता कारागारले जनाएको छ। 

डुडुवास्थित जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले जेनजीको प्रदर्शनका बेला सुधारगृहमा रहेका २२८ बालबन्दीमध्ये ११५ जना भागेकामा २१ जना पक्राउ परेका छन्। अझै ९४ जनाको खोजी भइरहेको उनले जानकारी दिए ।

नौवस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७२ बालबन्दीमध्ये ८० जना भागेकामा १४ जना पक्राउ परेको उल्लेख गरे । बाँकेबाट ६  र दाङको लमहीबाट आठ जना पक्राउ परेको उनको भनाइ छ । सो सुधारगृहका ६५ जना बालबन्दीको खोजी भइरहेको छ । 

नौवस्ता कारागारबाट फरार भएका १४७ कैदीमध्ये अहिलेसम्म १३ जना पक्राउ परेको तथा १३४ जनाको खोजी भइरहेको कारागारका प्रमुख जालन्धर भुसालले जानकारी दिए । सो कारागारमा ५८५ जना कैदी बन्दी थिए । 

पक्राउ परेका ४८ जनामध्ये केही आफैँ फर्किएका र अधिकांशलाई खोजी गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अझैँ पनि फरार रहेका बालबन्दी र कैदीलाई फर्किन अनुरोध गरिएको जनाउँदै नफर्किए खोजी गरी पक्राउ गरिने प्रहरीले जनाएको छ । रासस।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्