लागुऔषधको हब बनेको नेपालगन्जमा लागुऔषध नियन्त्रण ब्यूरो र बाँके प्रहरीको कारबाही तिब्र

पक्राउ गर्न खोज्दा गोली चलाउनु पर्ने समेत आएको थियो अवस्था
शनिबार, साउन ३१, २०८२

नेपालगन्ज। पछिल्लो समय लागुऔषधको हब मानिएको बाँकेको नेपालगन्जमा लागुऔषधविरुद्धको कारबाहीलाई तिब्र पारिएको छ। भारतीय बजार नजिक र खुला सीमाका कारण सहजै लागुऔषध भित्रिदै आएको नेपालगन्जमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज उक्त कार्यविरुद्ध धावा बोल्दै कडा अपरेसन सुरु गरिरहेको छ। 

लागुऔषध नियन्त्रण ब्यूरोको सक्रियतामा बाँकेको नेपालगन्जमा गरिएको कारबाहीमा मात्रै ४ दिनको फरकमा प्रहरीले  ३२७ ग्राम बढी ब्राउन सुगर र खैरो हेरोइन बरामद गर्न सफल भएको छ। लागुऔषध ब्यूरोको ठुलो सक्रियताले शुक्रबार  दिउँसो मात्रै नेपालगन्ज बसपार्कबाट प्रहरीले  एकैपटक १६५ ग्राम खैरो हेरोइनसहित ४ जना कारोबारी र बिक्रेतालाई पक्राउ गर्न सफल भयो। उक्त अपरेसनमा प्रहरीले गोली नै चलाउनु परेको थियो। 

भारतबाट खैरो हेरोइन बेच्न नेपालगन्ज आएका लागुऔषध बिक्रेतालाई पक्राउ गर्ने क्रममा लागुऔषध ब्यूरो नेपालगन्जका इन्चार्ज असई नवीन शाहीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारबाही गर्दै कारोबारीको खुट्टामा गोली चलाएको थियो। प्रहरीको गोली लागेर भारतको रुपइडिहाका कार्तिक कुमार घाइते भए भने लागुऔषध कारोबारीको आक्रमणमा असई साही घाइते भएका थिए। उनीहरु दुबैको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीले शुक्रबार  बसपार्कमा गरेको लागुऔषधविरुद्धको कारबाहीमा गोली लागेर घाइते भएका रुपइडिहाका कार्तिक कुमारसहित नेपालगन्ज-५ का २२ वर्षीय  अमन साह ,२६ वर्षीय भाइजान अन्सारी र रुपइडिहाका २० वर्षीय अजयकुमारलाई १६५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

त्यसैगरी बिहीवार साँझ नेपालगन्ज-३ एकलाइनेस्थित मुसाफिर खाना नजिकबाट जिल्ला प्रहरी मातहत रहेको नगर भवन प्रहरी युनिट र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले दाङको तुलसीपुर-५ का २७ वर्षीय बिराज बिकलाई ४७ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिन सफल भयो। बिक तुलसीपुर आसपास क्षेत्रमा लागुऔषध बिक्री गर्ने व्यक्ति रहेको खुल्न आएको बाँके प्रहरीले जनाएको छ।

हिरासतमा रहेका बिकको बयानका आधारमा उनलाई बिक्री गर्ने व्यक्तिलाई पछ्याउने क्रममा शुक्रबार  दिउँसो ३ बजे नेपालगन्ज-११ त्रिभुवन चोकबाट सोही वडाको बिपी चोक नजिक बस्दै आएका लागुऔषध बिक्रेता (प्रहरीको भाषामा डिलर) रसुल अहमद अवाडियालाई असई शाह नेतृत्वको रहेको लागु औषध नियन्त्रण ब्यूरोसहितको टोलीले १ सय ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। रसुल पक्राउ पर्नु बाँके प्रहरीलाई ठुलो सफलता भएको बताइएको छ। बाँके प्रहरी भन्छ-" रसुल पक्राउ परेपछि अब केहीहद लागुऔषधको कारोबारमा कमी पक्कै आउनेछ।"

यसैगरी लागुऔषधविरुद्धको कारबाही गर्ने क्रममा मंगलबार राति पनि बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले १५ ग्राम बढी ब्राउन सुगर र २२ लाख नगद लगायत विभिन्न हतियारसहित नेपालगन्ज -१४ बस्ने लागुऔषधका डिलर २८ वर्षीय  रमेश लोनियालाई समात्न सफल भएको थियो। यता जिल्ला प्रहरी बाँकेले लागुऔषधको जड मेटाउन सबै डिलरहरुको खोजीकार्यलाई तिब्र पारिएको जनाएको छ 

 समाजका युवायुवती लागुऔषधको कुलतमा परेर अन्धकारमा धकेलिदै गर्दा बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरोको अपरेसनले पक्कै पनि यो कार्य केही हदसम्म नियन्त्रण हुन्छ कि भन्ने महसुस भएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेत बताउँछन् ।

बस्नेतले भने-" लागुऔषध कारोबारविरुद्ध प्रहरीले मात्रै एक्लै समस्या समाधान गर्न नसक्ने हुँदा अन्य निकाय,स्थानीय सरकार  तथा आम नागरिकले यसको निर्मुलीकरणका बारे सोच्नुपर्ने भएको छ।" 

समाज दुर्घन्धित बनाउने र कयौंको भविष्य अन्धकार बनाउने लागुऔषध कारोबारविरुद्ध सबै एकजुट भएर लागे पक्कै पनि यसको सेवन तथा कारोबार रोक्न सकिने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्