नेपालगन्जबाट २२ लाख नगद र १५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ,४ जना अनुसन्धानका लागि तानिए

बुधबार, साउन २८, २०८२

नेपालगन्ज  । बाँकेको नेपालगन्जबाट प्रहरीले २२ लाख रुपैयाँ बढी र १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ भने सोही घटनामा थप  ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले  मंगलबार राति  नेपालगन्ज-१४ उदयपुरका २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गर्ने क्रममा  नेपाली र भारतीय गरी २२ लाख ३ हजार ९१५ रुपैयाँ र उक्त परिमाणको ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीले  जानकारी दिएका छन।

बाँके प्रहरीका अनुसार लोनियाको घरबाट प्रहरीले सुन-चाँदीका विभिन्न गरगहना, ५ थान खुकुरी, २ थान मोटरसाइकल र १० वटा मोबाइल बरामद गरेको हो । साथै उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ४ जनालाई अनुसन्धानका लागि नियन्त्रण लिएर सोधपुछको प्रकिया अगाडि बढाइएको डीएसपी पातलीले बताए।

पक्राउ परेका लोनियाविरुद्ध लागुऔषध कसुर लगायतका मुद्दामा थप अनुसन्धान जारी रहेको र अन्य ४ जनासँग सामान्य सोधपुछ गरिरहेको डीएसपी पातलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्