आर्यघाटमा जलाउँदै गरेको शवबाट मासु र हड्डी बेचेको आरोपमा दुई जना पक्राउ

आइतबार, साउन २५, २०८२

काठमाडौं । प्रहरीले पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेर बेचेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शवबाट हड्डी र मास निकालेर बेचेको आरोपमा आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण र दाउरेलाई पक्राउ गरिएको हो । 

प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले दिएको जानकारी अनुसार  काभ्रेको बनेपा नगरपालिका-९ का मृतक राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तको उजुरीपछि प्रहरी वृत्त गौशालाले ती ब्राह्मणलाई पक्राउ गरेको हो। 

शुक्रवार शव जलाउँदै गरेको अवस्थामा ती ब्राह्मणले एक जनालाई हड्डी र मासु दिएको आफन्तको आरोप रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका ती ब्राह्मणले आफू लोभमा परेकोसमेत स्वीकारेका छन्। प्रहरीको बयानमा उनले भने-" म लोभमा परेँ। ४र-५ सय रुपैयाँ दिएकाले दिएको हुँ।"

ती ब्राह्मणले हड्डी र मासु किन्ने को हो भनेर अझै नखुलाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ भने प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्