कुटपिट घटनामा सोधपुछका लागि बोलाइएका युवक २० वर्ष जेल सजाय पाएका फरार प्रतिबादी भेटिएपछि....

बुधबार, असार ३२, २०८२
Honor 600 pro

दाङ । कुटपिट घटनामा सोधपुछका लागि बोलाइएका एक युवक कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद तोकिएका फरार प्रतिबादी  रहेको खुल्न आएको छ। 

दाङको  गढवा गाउँपालिका-३ खैरेनीका २७ बर्षीय अर्जुन बुढा मगर भनिने राजाबाबु बुढा मगरलाई प्रहरी खासमा बालक कुटपिट घटनामा सोधपुछका लागि बोलाएको थियो ।तर, अनुसन्धाका क्रमा उनी कर्तव्य  ज्यान र नकवजनी चोरी मुद्दामा उच्च अदालत पाटनबाट २०७६-१०-२४ मा २० वर्ष १ महिना १५ दिन कैद सजाय तोकिएका फरार प्रतिबादी भएको पत्ता लागेको दाङ प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङ जिल्ला अदालतको लगत नम्बर ३१८४ रहेका बुढा त्यसयता फरारको सूचिमा रहेका थिए ।यो बीचमा बुढा कतै चुनु, कतै अर्जुन र कतै राजाबाबुको नाममा गाउँ घरमै बस्दै आएका थिए। जसले नाबालक छँदै ब्यक्ति हत्या जस्तो गम्भीर मुद्दा खेपेका थिए ।

प्रहरी अनुसन्धानबाट यो बीचमा बुढाले दाङको लमहीमा बालक प्रयोग गरी चोरी गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गाउँमै बच्चा कुटेको आरोपपछि सोधपुटका लागि असार ३० गते प्रहरीले बुढालाई बोलाएको थियो । अनुसन्धानका क्रममा बुढाको बिगतको राज प्रहरीले पत्ता लगाएको हो ।

मंगलबार अदालतबाट बुढाको सजाय बारे पत्ता लगाएर प्रहरीले बुढालाई जिल्ला अदालत दाङमा पेश गरेको थियो । तोकिएको सजाय भुक्तानका लागि मंगलबार नै उनलाई कारागार चलान गरिएको दाङ प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्