पेस्तोलसहित दुई युवक पक्राउ,अर्का फरार

बुधबार, असार ३२, २०८२

काठमाडौं । प्रहरीले पेस्तोलसहित दुई जना युवकलाई पक्राउ गरेको छ। मोरङ प्रहरीले जिल्लास्थित जहदा गाउँपालिका-४ हटिया टोलबाट आज बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल र घरेलु हतियार बरामद गरेको जानकारी दिएको छ।

प्रहरीका अनुसार पेस्तोल र घरेलु हतियार लुकाएको आरोपमा जहदा-४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई पक्राउ गरिएको हो । अर्का आरोपी जहदा-४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार रहेको मोरङ प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार भुस राख्ने छाप्रोभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको हो।‘मेड इन जापान’ लेखिएको १ थान पेस्तोलसँगै एउटा खुकुरी र मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । यसअघि हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका उनीहरुसँग हातहतियार मुद्दामा थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्