गाउँपालिकाकी कार्यालय सहायक मृत्यु प्रकरण: प्रेस चौतारी रुकुम पश्चिमक अध्यक्षविरुद्द जाहेरी

सोमबार, असार ३०, २०८२

रुकुम पूर्व। गाउँपालिकाकी कार्यालय सहायक रहेकी युवतीको मृत्यु घटनामा प्रेस चौतारीका जिल्ला अध्यक्ष मुछिएका छन् ।  रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यालय सहायक पदमा कार्यरत रहेकी कोइली शाहीको मृत्यु घटनामा प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री घटनामा जोडिएका हुन् । 

असार २८ गते बिहान आफ्नै डेरामा मृत फेला परेकी कोइलीका परिवारले अध्यक्ष खत्रीमाथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका हुन्  । रुकुम पूर्व सिस्ने गाउँपालिका-६ खोपिचार घर भएकी २५ वर्षीया कोइलीलाई खत्रीले शाहीलाई फोन गरेर पटक-पटक तनाव दिने गरेको परिवारका सदस्यको आरोप रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डीएसपी उमा शंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेका व्यक्तिको खोजी कार्य चलिरहेको बताए ।मृतकको अन्त्येष्टि गरिसकिएको छ तर  पोष्टमार्टम रिपोर्ट भने आएको छैन । रिपोर्ट आउन अझै केही दिन लाग्ने डीएसपी यादवले जानकारी दिएका छन्  ।

जाहेरी परे लगत्तै अध्यक्ष खत्री फरार भइसकेका छन् भने उनको खोजी कार्य जारी रहेपनि हालसम्म कसैको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्