सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरीले अवैध ओसारपसारविरुद्धको कारबाहीमा ११ करोड ७२ लाख ४६ हजार ४ सय रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ। प्रहरी आर्थिक वर्ष २०८१-०८२ को बैशाख महिनामा उक्त रकम बराबरको अवैध सामाग्री बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
त्यसैगरी प्रहरी हुन्डी कारोबारतर्फ गरेको कारबाहीमा १ करोड ६२ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ भने श्रोत नखुलेको रकमतर्फ १ करोड ६० ३० हजार ८३९ रुपैयाँ बरामद गरेको हो। यो विवरण गत बैशाख महिनाको हो। प्रहरीले देशका विभिन्न स्थानबाट २ करोड ३९ लाख ३९ हजार १८ रुपैयाँ बराबरको सुनचाँदी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
देशभरमा नियमविपरीत चलेका सवारीसाधनलाई गरिएको कारबाहीमा प्रहरीले ९ करोड ६२ लाख १२ हजार ८९४ रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै प्रहरीले फैसला कार्यान्वयनतर्फ ११ करोड ७४ लाख ६६ हजार १६० रुपैयाँ जरिवाना असुल उपर गरेको हो।
अवैध मुद्रातर्फ प्रहरीले गरेको अपरेसनमा ८३ लाख ४८ हजार ६७१ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस्तै प्रहरीले बैशाख महिनाभर ४१ लाख ४९ हजार ६१२ रुपैयाँ बराबरको अवैध पशुपंक्षी बरामद गरेको छ भने १८ लाख २५ हजार ९७० रुपैयाँको अवैध काठ नियन्त्रणमा लिएको हो। त्यसैगरी अवैध उत्खननतर्फको कारबाहीमा प्रहरीले २३ लाख ४३ हजार ३२० रुपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रहरीले देशभरबाट गत बैशाख महिनामा उल्लेखित सबै कारबाहीतर्फ ४० करोड ३८ लाख २२ हजार ८९१ रुपैयाँ बराबरको राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।