सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेको नेपालगन्जबाट १ क्विन्टल बढी गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
ठुलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाबाट खटिएको टोलीले नेपालगन्ज-२२ स्थित कान्तितालबाट गए राति २ किलो ३५० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो ।
लागुऔषधको टोलीले नेपालगन्ज- १४ का १७ वर्षीय विनय सोनी, वडा नम्बर २२ का १६ वर्षीय आदर्श साहान र नेपालगन्ज-६ का २१ वर्षीय दिपेश चौरासियालाई कान्तितालबाट २ किलो ३५० ग्राम गाँजासहित पक्राउ गरेको थियो।पक्राउ परेका उनीहरुसँगको सोधपुछमा गर्ने क्रममा उक्त गाँजा बिक्री गर्ने अर्कै व्यक्ति रहेको खुल्न आएको हो।
प्रहरीले उनीहरुहरुले दिएको होलिया अनुसार डुडुवा गाउँपालिका-४ का ५० वर्षीय भागिराम खटिकलाई तत्काल नियन्त्रणमा लिएको बाँके प्रहरीले जानकारी दिएको छ। नियन्त्रणमा लिइएका खटिकको घर खानतलासी गर्ने क्रममा प्रहरीले थप १ सय ११ किलो ४०६ ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीले उक्त परिमाणको गाँजासहित पक्राउ परेका चारै जनालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
त्यसैगरी प्रहरीले नेपालगन्ज नाका नजिकबाट खैरो हेरोइनसहितन्दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ का ३४ वर्षीय चन्द्र बहादुर गन्धर्व र सोही स्थानका २७ वर्षीय सौरभ टमाटा रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले चन्द्रबहादुर र सौरभलाई नेपालगन्ज-१५ जमुनहाबाट रुपइडिहादेखि नेपालगन्ज आउँदै गरेको अवस्थामा १ ग्राम ३३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सोमबार पक्राउ परेका उनीहरुसँग प्रहरीले थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
यस्तै नेपालगन्ज-१५ जमुनहाबाट जुम्लाको चन्दननाथ नगरपालिका-१० का २१ वर्षीय आशिष न्यौपानेलाई प्रतिवन्धित औषधिसहित प्रहरीले पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय जमुनहाको टोलीले न्यौपानेलाई ट्रामाडोल ५० ट्याबलेट र नाईट्रोभ्याट ७० ट्याबलेट गरी जम्मा १२० ट्याबलेट प्रतिवन्धित औषधिसहित पक्राउ गरेको हो। न्यौपानेलाई सोमबार दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।