सामाजिक रुपान्तरणमा महिलाको भूमिका...

बिहीबार, फागुन २२, २०८१

महिलाको भूमिका हरेक क्षेत्रमा महत्त्वपूर्ण छ । समाजमा महिलाको स्थान र भूमिकाको सही मूल्याङ्कन गरी समानता र इज्जतका साथ बाँच्न सक्ने अवस्था नै महिला अधिकार हो ।

कानुनी अधिकारले मात्र महिला सुरक्षित छैनन् किनभने परापूर्वकालदेखि चलेको पुरुषमुखी मूल्यमान्यता र समाजमा पोथी बासे अनिष्ट हुने अन्धविश्वासको विद्यमान संस्कारले यदाकदा अझै पनि विशेष गरी ग्रामीण भेगका महिलाहरू पिल्सिएको अवस्था छ । 

पुरुष सरह सीप र शिक्षामा पहुँच हुँदाहुँदै पनि दुई चार जना अपवादलाई छोडेर हरेक पद वा निकायमा कोटा र समानुपातिक जस्ता साना पदमा राखिन्छ । त्यसैले परिवार समाज र राज्यले महिलालाई पुरुष सरह समानता दिएको देखिँदैन ।  जनगणना अनुसार पुरुषको भन्दा महिलाको जनसङ्ख्या बढी देखिएको छ । तर पनि हरेक क्षेत्रमा महिलाको सहभागिता पुरुषको तुलनामा कम छ । महिलाका मुद्दाहरूमा यति धेरै कानुन बनिरहँदा पनि घरभित्रका घरेलु हिंसा र घर बाहिरका असमानताको स्थितिलाई दुःखपूर्वक खेपिरहनु परेको छ । 

अहिलेको पुस्ताले स्वतन्त्रताको बारेमा अलिकति नबुझेको हो कि जस्तो पनि लाग्छ । पुरुषले गर्ने हरेक नकारात्मक कार्यहरूमा आफू पनि स्वतन्त्र भएर गर्न पाउनु महिला स्वतन्त्रता हो भन्ने ठानेका छन् ।  जाँडरक्सी खानु, जुवा तास खेल्नु, जथाभावी डुलेर मध्यरातिमा घर आउनु, श्रीमान र घरपरिवारको मर्यादामा नबस्नु मात्र महिला स्वतन्त्रता होइन, यसले समाजमा नकारात्मक विकृति ल्याउँछ । 

शिक्षा, स्वास्थ्य, सम्पत्ति, घरमा गरिने समान व्यवहार र हरेक क्षेत्र वा निकायमा समान अधिकार पाउनु नै महिला सशक्तिकरण हो । महिलाले आफूलाई सक्षम बनाउनका लागि सकारात्मक विषयमा हक अधिकार खोज्नुपर्छ । साथै महिलाका मुद्दामा छापिएका विधानहरूलाई आत्मसाथ गर्दै महिलाहरू एकजुट भएर अगाडि बढ्न सक्नुपर्छ ।

महिला प्रयोग गरिने वस्तु होइनन्, समाजलाई रूपान्तरण गर्ने पाठशाला हुन् भन्ने यथार्थ बुझाई आवश्यक छ ।

शोभा केसी सुवेदी -नेपालगन्ज 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हाईहाई अमेरिका....
बिहीबार, फागुन २२, २०८१

बौला खोला...
बिहीबार, फागुन २२, २०८१