सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सत्ययुगमा हिमालय पर्वतका राजा हिमालय र रानी मेनकाकी एक छोरी थिइन्। जसको नाम पार्वती थियो। छोरी पार्वती बढ्दै जाँदा हिमालयले विष्णु भगवानसँग विवाह गरिदिने निर्णय गरे। तर सानैदेखि बुद्धि र बहुप्रतिभा भएकी छोरी पार्वतीले त्यो कुरा थाहा पाएर आफ्ना साथीहरूलाई बोलाई जंगलमा गई श्री महादेव स्वामी पाउ भनी व्रत र तपस्या गर्न थालिन्।
पार्वतीको कठोर तपस्या र व्रतबाट प्रसन्न भई श्री महादेवले भाद्र शुक्लपक्ष तृतीयाको दिन पत्नीको रूपमा पार्वतीलाई स्वीकार गरी कैलाशमा लगी श्रीमतीको उच्च स्थान दिएर पति पत्नीका रूपमा रहनुभयो। त्यतिबेलादेखि नै हिन्दू नारीहरूले आफ्नो घरपरिवार छोराछोरी र श्रीमानको प्रगति दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै व्रत लिने चलन चलिआएको हो।
यो पर्वलाई हरितालिका तीज किन भनिएको हो भन्ने अर्थमा पार्वतीलाई उनका संगीहरूले हरेर अथवा लुकाएर जङ्गलमा तपस्या र व्रत गर्न लगाएको र व्रतका प्रभावले श्री महादेव स्वामी पाएको हुनाले यो पर्वलाई हरितालिका तीज नामले पुकारिन्छ।
त्यतिबेलाको समयमा पनि पार्वतीले आफ्नो हक अधिकारका लागि समाज घर इष्टमित्र र आफ्ना जन्मदिने बुवाआमासँग लडेर विजय प्राप्त गरिन। त्यसैले हामी नारीहरू पनि एकजुट भएर अगाडि बढ्न सक्यौँ भने हाम्रा अधिकारहरू पनि सुनिश्चित गर्न सक्छौँ भन्ने जस्ता कुराहरू यो तीज पर्वले महत्त्वपूर्ण सन्देश दिएको छ।
परापूर्वकालदेखि नै वेद पुराण र शास्त्रले नारीलाई उच्च स्थान दिइ लक्ष्मी,महाकाली, शक्ति दुर्गा भवानी, पार्वती र सरस्वतीको नामले व्याख्या गरिएको छ। शास्त्र पुराणले उच्च स्थानमा राखेका हामी नारीहरू बौद्धिकता क्षमता र शक्तिमा पक्कै पनि कमजोर छैनौँ।
स्कन्द पुराणमा नारीको बौद्धिकता र क्षमताको एउटा रोचक कथा साभार गरिएको छ। एकदिन श्री महादेव र सतीले जुवा खेलिरहँदा श्री महादेवको सम्पत्ति र सम्पूर्ण वस्तुहरू सतीले जितिन्। र अब जुवामा दाउ थाप्नका लागि केही पनि वस्तु रहेन र महादेवले आफ्नो शरीर थाप्न लाग्दा सहनशील र ज्ञानी श्रीमतीले त्यो कुरालाई अस्वीकार गरी मैले हारे भने हजुरको शरीर बराबरको अर्को बहुमूल्य वस्तु कहिँ र कुनै छैन हजुरको शरीरमा मेरो अधिकार भइसकेको जुवा खेलेर जित्नुपर्ने आवश्यक छैन। भनी जुवा खेल्ने वातावरण समाप्त गरेकी हुन् ।
त्यसैले कुनै सम्बन्ध खेल र कार्य गर्दा भविष्य सोचेर बुद्धि र ज्ञानले मात्र अगाडि बढ्न सके मात्र सफल भइन्छ। भन्ने कुरा यो कथाले महत्व राख्दछ।
नारी बौद्धिक शक्तिशाली सृष्टिकर्ता भाग्यशाली सहनशीलता र सौन्दर्यकी प्रतिमूर्ति हुन्। यस्तो ऐश्वर्य र अहोभाग्य लिएर जन्मेका हामी नारी शक्तिले कसैको अगाडि शिर झुकाउनुपर्ने पुरुषको रखेल भएर बस्नुपर्ने समाज र घरपरिवारको दमन र हिंसा सहेर बस्नुपर्ने समय छैन ।अब रातो-पहेँलो साडी चुरा धागो लगाई नाच गान र मिठो भोजनले मात्र नारी सशक्तिकरणको परिभाषा गर्न सकिँदैन।
सडकमा एक दुई दिन नारा लगाएर महिलाका हक अधिकार सुनिश्चित गर्न सकिँदैन। अझै पनि महिलाका मुद्दाहरूमा निष्पक्ष ढङ्गबाट बहस गरेको देखिँदैन।
[नारी कमजोर हुनुमा पुरुषको मात्र दोष छैन]
किनभने हामी आफै एकजुट छैनौँ। सासुले बुहारीलाई र बुहारीले सासुलाई हेप्ने जस्ता सामाजिक परम्परालाई तोड्न नसक्नु श्रीमानले नखाएसम्म श्रीमतीले खान नपाउने र पुरुषले जाँड रक्सी खाई मध्यरातमा परिवार छोराछोरी र श्रीमतीलाई भयङ्कर डरलाग्दा जघन्य अपराध गरी हत्या गरेका कैयौं कारुणिक कथा व्यथा छन्।
यसको साथसाथै सकारात्मक सोच र चेतनाको कमी पनि भएको हो कि भन्ने लाग्छ। अहिलेको जल्दो बल्दो अपुष्ट कानुनको समाचार पुरुषले बहुविवाह गर्न पाउनुपर्छ रे ?
यसमा नारीहरूले जताततै सामाजिक सञ्जालमा हामीले पनि दुईवटा श्रीमान राख्न पाउनुपर्छ भन्ने धारणा व्यक्त गरेका छन्। हामीले पनि पुरुष बराबर जुवा तास जाँडरक्सी खाएर मध्य रातमा घर आउन पाउनुपर्छ भन्ने जस्ता कमेन्टहरू ले हाम्रो नकारात्मक माग र सोचले समाजलाई कतातिर लैजान्छ होला?
अझै पनि हामीले समाजमा विकृति फैलाउने माग राख्यौँ भने हाम्रै परिवार हाम्रै समाज र हामीलाई नै घातक बन्न पुग्छ। समाजमा पुरुषहरूले आफूमाथि गरेको अन्यायलाई रोक्न सक्नु नै नारी सशक्तिकरण हो जस्तो लाग्छ। हामीले चोटको बदला चोटै भनेजस्तो गर्यौँ भने समाजलाई सकारात्मक ढङ्गले रूपान्तर गर्न सक्दैनौँ। यस्तो कार्यले पुरुष पनि बिग्रने छोराछोरी बिग्रने र महिला पनि बिग्रने र समाजलाई को आएर सुधार्ने हो ? र हामीलाई कसले न्याय दिने हो? अझै पनि पुरुषको तुलनामा नारीहरू हरेक अवसरमा पछाडि छौँ। हामी सकारात्मक सोचका साथ एकजुट भएर शिक्षा स्वास्थ्य रोजगार जस्ता जायज मागहरू माग्न सक्यौँ भने एकदिन सफल हुन्छौँ होला।
उमङ्गका साथ आएको हरितालिका तीज पर्वको अवसरमा सम्पूर्ण नारीहरूलाई सुख शान्ति प्राप्त होस्। सम्पूर्ण दिदीबहिनीहरूमा तीज पर्वको शुभकामना।
शोभा केसी सुवेदी (नेपालगञ्ज-१०,बाँके)