सेवा प्रदायक, नागरिक र राज्य: जिम्मेवारीको सन्तुलन कहिले?

मंगलबार, वैशाख १५, २०८३
Honor 600 pro

हरेक सेवा प्रदायक आफ्नो पेशाप्रति जिम्मेवार हुनैपर्छ। सेवाग्राहीको मर्म बुझेर सेवा दिनु उनीहरूको मुख्य दायित्व हो। तर यससँगै हामीले बुझ्नुपर्ने कुरा के हो भने अस्पतालका सेवा प्रदायकहरू पनि आखिर मानव नै हुन्। उनीहरूलाई भोक लाग्छ, निद्रा लाग्छ, थकान हुन्छ, कहिलेकाहीँ बिरामी पनि पर्छन्, र समाजसँगै हिँड्न, बाँच्न चाहना राख्छन्। यी सबै अवस्थाबीच पनि उनीहरू जीवन चलाउने प्रयास गर्दै निरन्तर सेवामा खटिरहेका हुन्छन्।

अब मुख्य प्रश्न राज्यतर्फ जान्छ—राज्य कहिले पूर्ण रूपमा जिम्मेवार बन्छ? सेवा प्रदायकहरूको सुरक्षा सम्बन्धमा ठोस योजना कहिले बनाइन्छ र कार्यान्वयन कहिले हुन्छ? गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक आधारभूत पूर्वाधार, जनशक्ति र स्रोत–साधन के केवल स्थानीय व्यवस्थापकले मात्र जुटाउन सक्छन्?

सीमित मात्रामा रहेका अस्पतालहरूलाई सुविधा सम्पन्न बनाउन संघीय सरकार किन प्रभावकारी देखिँदैन?नागरिकलाई आफ्नो अधिकारप्रति जागरूक बनाउने कार्य सकारात्मक हो, तर सोहीअनुसार सेवा दिने संस्थाहरू पर्याप्त स्रोत–साधनको अभावमा संघर्षरत त छैनन् भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ। यस्ता विषयलाई घटनासँगै गहिराइमा नियाल्न जरुरी छ, ताकि भविष्यमा यस्ता घटना दोहोरिन नदिई न्यूनिकरण गर्न सकियोस्। यसले सेवा प्रदायक र सेवाग्राहीबीच बढ्दो अविश्वासको खाडल कम गर्न पनि मद्दत गर्दछ।

आफ्नो उपचारबारे जानकारी पाउनु प्रत्येक नागरिकको अधिकार हो। तर यस अधिकारको सदुपयोग गर्दा नागरिक पनि सजग हुन आवश्यक छ। जुन विषयमा आफू जानकार छौं, त्यसबारे अरूलाई जानकारी गराउनु ठीक हो, तर जुन विषयमा विशेषज्ञता अरूको छ, त्यसलाई उनीहरूको जिम्मेवारीमा छोडेर उनीहरूबाट सिक्ने संस्कार पनि विकास गर्नुपर्छ।

हाम्रा संस्था र सेवा प्रदायक हाम्रै हुन्। उनीहरूबाट गुणस्तरीय सेवा लिनु हाम्रो अधिकार हो भने उनीहरूको संरक्षण, सम्मान र सुविधा विस्तारमा पहल गर्नु हाम्रो दायित्व पनि हो। यसले दक्ष जनशक्ति पलायन हुनबाट रोक्न सहयोग पुर्‍याउँछ।

तर, हाम्रो समाजमा केही व्यक्तिहरू—जो उक्त विषयमा पूर्ण रूपमा जानकार हुँदैनन्—अस्पतालबाट दिइने सेवाबारे अनावश्यक टिप्पणी गर्ने वा अरूलाई गलत ढंगले ‘ब्रिफिङ’ गर्ने प्रवृत्ति पनि देखिन्छ। उदाहरणका लागि, चिकित्सकले औषधि दिई उपचार गरिरहेको अवस्थामा बाहिरका व्यक्तिहरूले “के समस्या थियो?”, “यो औषधि किन चलाइयो?”, “यो त नचलाउनु पर्ने हो” जस्ता टिप्पणी गर्दा बिरामी र उनका आफन्तमा अन्योल र अविश्वास सिर्जना हुन्छ। यसले सेवा प्रदायक र सेवाग्राही दुवै पक्षलाई नकारात्मक असर पार्छ। त्यसैले, यस्ता व्यवहारबाट टाढा रहन आवश्यक छ।

यस सन्दर्भमा सेवा प्रदायक र संस्थाहरूले सेवाग्राहीको मन जित्न छिटो, छरितो, भेदभावरहित र गुणस्तरीय सेवा दिन निरन्तर प्रयास गर्नुपर्छ। नागरिकले पनि सही–गलत छुट्याउँदै जिम्मेवार रूपमा खबरदारी गर्नुपर्छ। राज्यले स्वास्थ्य सेवालाई क्रमशः निःशुल्क, सुलभ र गुणस्तरीय बनाउँदै यसको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्छ।

यदि यी सबै प्रयासका बाबजुद पनि समस्या उत्पन्न हुन्छ भने दुवै पक्षबीच संवाद, वार्ता र सहकार्यबाट समाधान खोज्नुपर्छ। यसले सेवा प्रदायकमा अनावश्यक तनाव कम गरी अन्य सेवाग्राहीलाई पनि असर नपर्ने वातावरण सिर्जना गर्दछ।

सबैको जय होस् 👏

जागेश्वर बस्नेत-नेपालगन्ज (जनस्वास्थ्य अधिकृत)

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १२:५९
प्रतिक्रिया दिनुहोस्