साढे १० ग्राम बढी खैरो हेरोइनसहित ४ जना पश्चिम नवलपरासीबाट पक्राउ

सोमबार, माघ २१, २०८१
Honor 600 pro

परासी। पश्चिम नवलपरासीबाट एकैपटक ठुलो परिमाणमा खैरो हेरोइनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

लागुऔषधविरुद्दको पश्चिम नवलपरासी प्रहरीले गरेको अपरेशनमा आज निहान १० ग्राम ५८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। प्रहरीले लागुऔषध दुरुपयोग तथा अबैध ओसारपसार बिरुद्धको जिल्लाब्यापी अभियान-२०८१ को प्रभावकारी कार्यान्वयनतर्फ आज बिहान ८ बजे दुई जनालाई ७ ग्राम २८० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेपछि थप दुई जनालाई पक्राउ गरेको पश्चिम नवलपरासी प्रहरीले जानकारी दिएको छ।

प्रहरीको अपरेशनमा सुरुमा नवलपरासीस्थित रामग्राम नगरपालिका- १२ पचगावा परासी भुमही सडकखण्डमा शंकास्पद रुपले पैदल हिडिरहेका रुपन्देहीको बुटवल- ११ श्रृजनानगरका २३ वर्षीय सन्दिप मगर र सोही स्थानकै १६ वर्षीय किशोरबाट ७ वटा पुरिया बनाएर राखिएको अवस्थामा ७ ग्राम २८० मिलिग्राम खैरो हेरोइनबरामद गरेको थियो।

उनीहरुलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा उनीहरुले अरु पनि समूहमा सामेल रहेको बताएपछि पश्चिम नवलपरासी प्रहरीले रामग्राम नगरपालिका-१२ पचगावास्थित रेशमा देवी भरको घरमा खानतलासी गरेको जानकारी दिएको छ।

प्रहरीको खानतलासीका क्रममा रुपन्देहीको देवदह नगरपालिका-२ बिर्ता घर भएर ससुरालीमा बस्दै आएका ३४ वर्षीय किसुन भर सुत्ने कोठाबाट ५ पुरियामा प्याक गरेर राखिएको १ ग्राम ४८० मिलिग्राम खैरो हिरोइन र  अर्को ५ पुरियामा  १ ग्राम ८२० मिलिग्राम खैरो हेरोइनसहित किसुन र अर्का रामग्राम नगरपालिका-१२ पचगावाका २५ वर्षीय सुनिल राजभरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

खैरो हेरोइनसहित पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्