लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो ४ राउन्ड गोली, एक जना घाइते

शुक्रबार, माघ १८, २०८१

रबिन्द्र यादव / पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध कारोबारी पक्राउ गर्न चार राउण्ड गोली प्रहार गरेको हो।

Honor x5c

गए राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागुऔषध (ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् ।

लोनियाले बिक्री वितरणका लागि लागुऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमाण्डमा पाँच जनाको टोली उनको घरमा पुगेर नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो। प्रहरीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । अवस्था तनावपूर्ण बनेको र उनी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ साप्रामा एक राउण्ड गोली लाग्दा उनी घाइते भएको बोहराले बताए ।

उनको जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सो स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिइएको सूचना अधिकारी बोहराले जानकारी दिए । लागुऔषध किनबेचमा संलग्न रहेको अर्का एक व्यक्ति भने फरार भएका छन् ।

जिल्लामा लागू औषधको कारोबार बढेको अवस्थामा कारोबारी लाई पक्राउ गर्न प्रहरीलाई गोली चलाउनु परेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्