'लैंगिक समानताका लागि व्यवहार परिवर्तन आवश्यक': नगर प्रमुख आचार्य

बिहीबार, माघ १७, २०८१
honor mob  winter sales

कोहलपुर । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले लैंगिक समानताका लागि व्यवहार परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

Honor x7 pad

लैंगिक रुपान्तरणकारी सामाजिक मूल्यमान्यता सम्वन्धि छलफल केन्द्रको आज कोहलपुर नगरपालिका वडा नं.१२ स्थित मसुरीखेतमा सुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले लैंगिक समानताका लागि परम्परागत मूल्यमान्यताको सोच बदल्न आवश्यक रहेकोमा जोड दिए । 

उनले भने–‘अहिले पनि हाम्रो समाजमा पुरुष र महिला बीचको असमान सोच र व्यवहार छ । यसलाई बदल्न महिला पुरुष एक हुनुको विकल्प छैन ।’ उनले भौतिक पूर्वाधार विकासलाई मात्रै विकास ठान्ने मनोवृत्तिबाट माथि उठ्न सबैलाई आग्रह गरे । उनले समाज तथा टोलको विकासका लागि सामाजिक विकास पनि महत्वपूर्ण हिस्सा भएको बताए । 

सचेत ब्यक्ति, सचेत परिवार र सचेत समाज भएको ठाउँमा विकासले समेत गति लिएको उल्लेख गर्दै मूल्यमान्यतामा आधारित गलत संस्कार र सोच बदल्दै समाजको समग्र विकासमा भूमिका खेल्न आग्रह समेत गरे । 

कोहलपुर नगरपालिकाको समन्वय, मसुरीखेत टोल विकास संस्थाको सहकार्य र सिद्धार्थ सामाजिक विकास केन्द्र एसएसडिसीरपिआइएनको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै एसएसडिसीका कार्यक्रम प्रवन्धक पोम नारायण पौडेलले संस्थाले सामाजिक रुपान्तरणको सवालमा काम गर्दै आएको बताए । उनले स्थानीय सरकार तथा साझेदारी संघसंस्थासँगको सहकार्यमा शिक्षा र बाल अधिकारको सवालमा मुख्य गरी संस्थाले काम गर्दै आएको पनि सुनाए । 

विद्यार्थीहरुलाई नियमित विद्यालयमा कसरी टिकाई राख्ने, हिंसा न्यूनीकरणका उपाय सुझाउनेदेखि लैंगिक हिंसा प्रभावितहरुलाई आश्रयस्थलको समेत व्यवस्थापन गर्ने काम संस्थाले गर्दै आएको पनि पौडेलले बताए । 

यस्तै पिआइएनका सिर्जना थारुले लैंगिक असमानताका कारण हुने विभेद अन्त्यका लागि सचेतीकरण गर्ने काम गर्दै आएको बताइन् । टोल विकास संस्थाका अध्यक्ष लालबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, कोहलपुर नगरपालिका रोजगार केन्द्रका प्रमुख आशिष वर्मा, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष विरेन्द्र सापकोटाले गरेका थिए । तीन वर्षीय परियोजना अन्तर्गत कोहलपुर नगरपालिकाका वडा नं. १, ४, १२, १३, १४ र १५ वटा वडामा यो कार्यक्रम लागू गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्