बाँकेको डुडुवामा रहेको अर्कैको जग्गाको नक्कली धनी बनेर करोडौं कर्जा लिएको आरोपमा ३ जना पक्राउ

बिहीबार, माघ १०, २०८१
honor mob  winter sales

नेपालगन्ज । नक्कली जग्गा धनी बनेर बैंकमा धितो राख्दै करोडौं रुपैयाँ कर्जा लिएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

नक्कली जग्गा धनी बनेर पक्राउ परेकाहरुमा काभ्रेस्थित बनेपा नगरपालिका-१ का २२ वर्षीय गौरव कार्की, काभ्रेकै बनेपा नगरपालिका-१ की ३५ वर्षीया इश्वरी माया रोका र बाराको जितपुर नगरपालिका-३ का ३५ वर्षीय दिलिप कुमार सिंह रहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी बाँकेका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका-८ की रेशमा श्रेष्ठको नाममा बाँकेको डुडुवा गाउँपालिका-५ मा दर्ता रहेको कि.नं.९५१ र कि.नं.९५२ क्षेत्रफल ११,०६०.३८ ब.मि (३३ कठ्ठा) जग्गाको नक्कली जग्गा धनी बनेर उनीहरुले जग्गाको  लालपूर्जा बनाएर मुक्तिनाथ बिकास बैंकबाट १ करोड २० लाख रुपैयाँ कर्जा लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरु तीनै जनाले ठगी गर्दै बैंकबाट करोडौं रकम ल्याएको निवेदन परे पश्चात् जिल्ला प्रहरी बाँकेले जिल्ला प्रहरी परिसर काठमाडौंलाई गौरव, इश्वरी र दिलिपलाई पक्राउ गर्न पत्राचार गरेको थियो।

काठमाडौं प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरु तीन जनालाई माघ ८ गते काठमाडौंको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

करोडौं रुपैयाँ ठगी गरेर पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आज जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार उनीहरुलाई बाँके जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्