रवि लामिछाने धरौटीमा रिहा भएपनि तत्काल नछुट्ने

बिहीबार, पुस २५, २०८१
Honor 600 pro

पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीमा ६५ लाख रुपैयाँ धरौटी बुझाएपछि काठमाडौं लैजाने तयारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएकाले काठमाडौं पठाइने बताइएको छ । प्रहरीका अनुसार लामिछाने तत्कालै छुट्ने छैनन्। ‘भर्खर अदालतको आदेश आएको छ । धरौटी बुझाएर रिहा भएपछि प्रहरीले  काठमाडौं पठाउने तयारीमा लागेको छ।

लामिछानेविरुद्ध यसअघि नै थप जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । जसकारण कास्कीमा धरौटी बुझाएर पनि उनी नछुट्ने देखिएको हो । यस्तै काठमाडौँ जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा अभियोजन भइसकेको छ ।

कास्कीको थुनछेक प्रक्रिया सकिएकाले अब लामिछानेलाई काठमाडौँ ल्याउने तयारी छ ।  यस्तै उनलाई  पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ । 

यसकारण सबै स्थानमा मुद्दाको थुनछेक आदेश नहुँदासम्म उनलाई छुट्न सहज नदेखिएको हो ।  कास्की प्रहरीका एसपी श्यामबाबु ओलीयाले लामिछाने धरौटी बुझाएर रिहा भएपछि काठमाडौँ पठाइने जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्