प्रहरी जोडिएको 'भैंसेपाटी हनिट्रयाप' घटनाको अनुसन्धान अब सीआईबीले गर्दै

बिहीबार, कात्तिक २२, २०८१
honor mob  winter sales

काठमाडौं । ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटी घटनाको अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) गर्ने भएको छ। 

Honor x7 pad

त्यहाँकी तत्कालीन इन्स्पेक्टरकै मिलेमतोमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरकै आग्रहमा सीआईबीले अनुसन्धान गर्ने भएको हो।

घटना संगठित प्रकृतिको भएको, अन्यत्र पनि सोही शैलीको अपराध भएको र यसमा प्रहरीका अधिकृत नै मुछिएपछि सिआइबीबाट अनुसन्धान हुन लागेको हो । सो घटनामा प्रहरी प्रभागकै तत्कालीन इन्स्पेक्टर बिनुकुमारी शाहीको संलग्नता देखिएकोमा उनी फरार छिन् भने एसपी कमल थापाको समेत ‘कनेक्सन’ देखिएपछि अनुसन्धान अघि बढेको थियो । 

यसअघि सो घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरेको थियो । ललितपुर प्रहरीले पक्राउ परेका ४ जना आरोपीसहित अनुसन्धान फाइल सीआईबीलाई हस्तान्तरण गरेको छ । सो प्रकरणमा पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएकी भिमादेवी थापा, ताज मुल इस्लाम, धनकुटा घर भएर इटहरी बस्ने सुस्मा बिक र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन् । घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरुविरुद्ध संगठित अपराध र आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।

इन्स्पेक्टर र गिरोहबिच कमल थापाले भेटघाट गराइदिएको अनुसन्धानमा खुलेपछि एसपीको समेत बयान लिन जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले प्रहरीलाई निर्देशन दिएको छ । तर, दुई साता हुँदा पनि ललितपुर प्रहरीले बयान लिन सकेको थिएन । एसपी थापाले शक्तिकेन्द्रमार्फत आफूमाथिको अनुसन्धान लुकाउने प्रयास गरिरहेका छन् । जबकि दरबारमार्गमा पनि एक ठेकेदारलाई फसाएको घटनामा उनको संलग्नता देखिएको छ ।

आरोपीहरुले घर जग्गा व्यवसायीलाई हनिट्रयापमा पारेर ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भनेर रकम असुलेको आरोप छ । आरोपीहरुसँग मिलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत इन्स्पेक्टर विनु शाहीलाई निलम्बन गरिएको छ । उनीविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुरको सानागाउँ बस्ने घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेका थिए । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरुले १० लाखको चेक लिएको भेटिएको छ । आफूसँग रकम असुल्न इन्स्पेक्टर विनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् । निलम्बित इन्स्पेक्टर शाही हाल फरार छिन्।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्