सार्वजनिक बिदाका दिन पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

आइतबार, भदौ १६, २०८१
honor mob  winter sales

काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । 

Honor x7 pad

कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । 

उनले गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदा सम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख गरेका छन् ।  

सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

अधिकांश निकायबाट स्वास्थ्य सम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक दिनमा पनि सेवा प्रवाह गर्न भनिएको जनाइएको छ । मन्त्रिपरिषद् कार्यालयले गृहमन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्नसमेत अनुरोध गरेको छ । 

विशेष व्यवस्थामा अस्पतालसहित नागरिकतासम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र, राहदानी, वैदेशिक रोजगार सेवालगायत सेवा सार्वजनिक दिन पनि अन्य दिन सरह सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । 

सेवा सञ्चालन गर्छौँ –मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्ने निर्देशन कार्यान्वयन गर्ने बताए ।

“हामीले सबै अस्पताललाई मन्त्रालयबाट निर्णय गरेर पत्राचार गर्ने तयारीमा रहेका छौँ”, उनले भने, “सार्वजनिक बिदाको दिनमा काम गर्ने कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि हामी छलफलमा छौँ।” 

सार्वजनिक बिदाका दिनमा बहिरङ्ग सेवा बाहेकको सबै सेवा सञ्चालन गरेको उल्लेख गर्दै बहिरङ्ग सेवा पनि कर्मचारीलाई अतिरिक्त समय काममा लगाए हुन्छ कि सिफ्टअनुसार हुन्छ भनेर छलफल गरिरहेको उनले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्